Radio Radio Xpress 88.4 FM

Radio Xpress 88.4 FM

Nepalgunj, Bheri, Nepal

Radio Xpress
Radio Xpress

आज बुद्ध पूर्णिमा । आजभन्दा दुई हजार पाँच सय ५७ वर्ष अगाडि नेपालको लुम्बिनीमा जन्मनुभएका शान्तिका अग्रदूत भगवान गौतम बुद्धले मानव जगतको उद्धारका लागि दिनुभएको शान्ति सन्देशको सम्झना गर्दै आज यो दिवस विश्वभर मनाइदैछ । आमा मायादेवी तिलौराकोटबाट माइती देवदह जाँदा लुम्बिनी पुगेका बेला प्रसव वेदनाले च्यापी बुद्धको जन्म त्यही भएको विश्वास गरिन्छ । पौराणिक वृत्तान्त अनुसार बुद्ध जन्मने बित्तिकै उत्तरतर्फ सात पाइला हिंडेको भन्ने किंवदन्ती पनि छ । राजा शुद्धोदनका छोरा सिद्धार्थ कठोर तपस्यारत भई भिक्षुका रुपमा रहँदा गौतम भनिन्थे भने ज्ञान प्राप्त गरिसकेपछि भने बुद्ध कहलाइएका थिए । शाक्य वंशका सिद्धार्थले २९ वर्षका उमेरमा तिलौराकोट दरवार छाडी लामो तपस्यापछि बुद्धत्व प्राप्त गरेका थिए । पछिल्ला दिनमा बुद्धको जन्मस्थलका बारेमै भ्रामक प्रचार भएका सन्दर्भमा उनको जन्मस्थल लुम्बिनीलाई विश्वभरका वौद्ध धर्मावलम्बीको केन्द्र बनाउनु नेपाल सरकारको मूख्य चुनौति देखिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

भारतमा जारी इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेट प्र्रतियोगिताको दोस्र्रो छनोट चरणमा आज मुम्बई इण्डियन्स र राजस्थान रोयल्स आमने सामने हुँदैछन् । कोलकाताको मैदान इडन गार्डेन्समा हुने खेल नेपाली समय अनुसार साँझ सवा आठ बजे सुरु हुनेछ । यी दुई टोली मध्येको विजेताले फाइनलमा चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो छनोट चरणमा मुम्बईलाई हराउँदै चेन्नई फाइनलमा प्रवेश गरेको थियो । राजस्थान भने सनराईजर्स हैदरावादलाई हराउँदै दोस्रो छनोट चरणमा उक्लिएको हो । आईपीएलको नियम अनुसार अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टोलीबीचको विजेता फाइनलमा प्रवेश गर्छ भने पराजित टोलीले तेस्रो र चौथो स्थानबीचको विजेतासँग प्रतिस्पर्धा गर्छ र यी मध्यको विजेता फाइनलमा प्रवेश गर्छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

पृथु बाँस्कोटाको कप्तानीमा नेपाली टोलीले भारतको देहरादुनमा हुने ३१औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेट प्रतियोगितामा भाग लिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)–११ को नामले खेल्न नेपाली टोली बिहीबार धनगढी हुँदै भारत लाग्नेछ। तीन साताअघि बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन ३ जितेको टोलीका कप्तान पारस खड्कासहित ८ खेलाडी टोलीमा हुने छैनन्। समूह चारमा नेपाली टोलीसहित ओएनजिसी लिमिटेड, एयर इन्डिया र केजिके जयपुर छन्। नेपालले मे २६ मा एयर इन्डियासँग, २७ मा जयपुरसँग र २९ मा ओएनजिसीसँग खेल्ने छ। १६ टोली सहभागी प्रतियोगिता विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख भारु पाउने छन्। प्रतियोगिताको सहभागिता शुल्क ३० हजार भए पनि नेपाली टोलीसँग नलिएको महासचिव प्याकुर्या३लले बताए।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तान र यमनी क्षेत्रमा गरिएको ड्रोन आक्रमणको नीति जायज भएको भन्दै बचाउ गरेका छन् । अमेरिकी जनतालाई आतंकवादीहरुबाट जोगाउन यस्तो आक्रमण गर्नु सही र जरुरी रहेको जिकिर ओबामाको छ । त्यस क्षेत्रमा गरिएका मानवरहित विमान आक्रमण ड्रोन हमलामा अहिलेसम्म तीन हजार व्यक्ति मारिइसकेका छन् । आफ्नो भाषणका क्रममा ओबामाले ग्वान्तानामो बन्दीगृह बन्द गर्ने धारणा पुन सुनाए । अमेरिकी सांसदसँग बन्दीगृह बन्द गर्न सघाउन उनले अपील पनि गरेको बीबीसीले जनाएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

रुसको सुदूरपूर्व कामचात्का प्रायद्धीपको पश्चिमी तटमा ८ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको छ । आज गएको शक्तिशाली भुकम्पबाट सुनामीको खतरा नरहेको समाचार संस्था सीएन्एनले जनाएको छ । जमिनदेखि ६ सय किलोमिटर मुनी गएको भुकम्पको क्षतिबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । रुसको रिया नोभोस्की समाचार एजेन्सीले जनाए अनुसार प्रभावित क्षेत्रमा पाँच मिनेटसम्म भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्प गएपछि धेरै मानिसहरु सडकमा उत्रिएको बताइएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा एक विमान ठूलो दुर्घटनाबाट बचेको छ । नेपाली समयअनुसार दिउँसो पौने २ बजे आपतकालीन अवतरण गरिएपछि ब्रिटिश एयरवेज बस ए थ्री वन नाइनको सुरक्षित अवतरण गरिएको हो । दुर्घटनाको कारणबारे थाहा हुन सकेको छैन भने विमानमा आगलागी हुने सम्भावना टरेको अधिकारीहरुले बताएका छन् । दुवै रन वे बन्द गरी उक्त विमानको आपतकालीन अवतरण गरिएकाले दुर्घटनाबाट बचेको अधिकारीहरुले जनाएका छन् । साउथर्न रनवे पुनः संचालनमा आइसकेको छ भने नर्दन रनवे अझै पनि बन्द रहेको बीबीसीले जनाएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

प्रेमीलाई खुसी पार्न काखमा हुर्काउँदै गरेको ११ महिने छोरालाई जङ्गलमा छाड्ने एक निष्ठुरी आमाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। एघार महिने छोरा भिष्म पौडेललाई जङ्गलमा छाडेर प्रेमी भेट्न गएकी नवलपरासी जिल्लाको गैडाकोट– ३ की मीना पौडेल (परियार) का विरुद्ध पर्वत जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि १० दिन म्याद थपेको छ। म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले बताए। मीनाका विरुद्ध उनका श्रीमान् कृष्णबहादुर पौडेलले आफ्नो ११ महिने छोरालाई जङ्गलमा छाडेर मार्ने प्रयास गरेको जाहेरी प्रहरीमा दिएका छन्। मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जङ्गलमा मङ्गलबार दिउँसो ४ बजे छोरालाई छाडेर मीना फलेवासमा प्रेमीसँग रात बिताउन गएकी थिइन्। जङ्गलमा फालेको २० घण्टापछि प्रहरीले आफन्तको सहयोगमा बच्चालाई जीवितै उद्धार गरेको थियो।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

महोत्तरीको हात्तिलेटबाट पाँच जना झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। टाउको दुख्ने, वान्ता हुने बालकलाई उपचार गराउन नदिएर पूजा कोठामा मन्त्रबाट उपचार गर्ने क्रममा बालकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय बर्दिबासले पाँच जना धामीलाई पक्राउ गरेको प्रहरी निरीक्षक भिष्म हुकमगाइले बताए। महोत्तरी रामनगर–९ का बमबहादुर मस्राङ्गी मगरको १२ वर्षीय छोरा मदन मस्राङ्गीको आज बिहान धामीको पूजा कोठामै मृत्यु भएको प्रहरीले जनाएको छ। फागुनदेखि नै टाउको दुख्ने, बान्ता गर्नेजस्ता समस्याले पीडित बालकलाई विगत डेढ महिनादेखि धामीले कोठामै राखेर झारफूक गर्दै आएका मृतककी आमा हुरिमायाँ मस्राङ्गीले बताए। हातिलेट खजुरी टोलकी पशुपतिबाबा बताउने मुख्य धामी पूजा लामाको घरमा स्थापना गरेको पूजा कोठामा छोराको मृत्यु भएको उनले बताए। इलाका प्रहरी कार्यालय बर्दिवासले पूजासँगै उनका सहयोगी धमिनीहरु स्थानीय अन्जु श्रेष्ठ, कल्पना लामा, उषा किङरिङ र बिशु भूजेललाई पक्राउ गरेको छ। झारफूक गर्दा बालकको गालामा तातो चिजले डामेको चोट देखिएको प्रहरीले जनाएको छ। पूजा कोठामै बालकको मृत्यु भएपछि धमिनी महिलाले बालकका आफन्तलाई शव घर लगेर दाह संस्कार गर्न भनेका थिए। तर गाउँलेले प्रहरीलाई खबरपछि बालकको शव अन्त्यष्टि गर्न टायरगाढामा चडाएर घाट तर्फ लैजान ठिक्क पारेको बेला प्रहरी घटना स्थल पुगेका थिए। बर्दिवासबाट प्रहरी निरीक्षक भिष्म हुमागाईको नेतृत्वमा गएको प्रहरी टोलीले बालकको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाएको छ। पाँच जना धामीनिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए। धामीनिको विश्वासमा पर्दा मृत्यु भएका बालक बालक स्थानीय प्राथमिक विद्यालयको कक्षा ५ मा पढ्दै आएका थिए। डेढ महिनाको बीचमा बालकलाई पहिलो पटक तीन दिन र दोस्रो पटक ८ दिनसम्म केही खान नदिइ धामीहरुले पूजा कोठामै उपबासमा राखेका थिए।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

जापानमा एक महिलाको बलत्कार गरी हत्या गरेको झुठो अभियोगमा १५ वर्ष थुनामा परेका नेपाली नागरिक गोविन्द मैनालीलाई जापान सरकारले करिब ६ करोड ८० लाख येन अर्थात ६ करोड नेपाली रुपैयाँ क्षतिपुर्ति दिने भएको छ । जापानको टोकियो अदालतको फैसला अनुसार मैनालीले उक्त क्षतिपूति पाउने भएको बताईएको छ । मैनालीले आफ्नो माग बमोजिम नै अदालतको फैसला आएको भन्दै चाँडै रकम हात पर्ने प्रतिक्रिया दिएका छन् । जापानी कानून व्यवसायीले क्षतिपुर्तिको रकम प्राप्त गर्न प्रक्रिया अगाडि बढाएका बताइएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

पूर्व सभासद् सदरुल मियाँ हकको अन्त्येष्टि भएको छ । गृहमन्त्री माधवप्रसाद घिमिरेले घटनास्थल पुगेर पीडित परिवार र स्थानीयको माग पुरा गर्ने आश्वासन दिएपछि शव उठाएर इस्लामिक परम्परा अनुसार हकको अन्त्येष्टि गरिएको हो । गृहमन्त्रीसँगको वार्ता र सम्वाद पछि पूर्व पश्चिम राजमार्गको सप्तरी कल्याणपुरमा गाडी चल्न थालेका छन् । सप्तरीका पूर्व सभासद् सदरुल मियाँ हक हत्याको विरोधमा गएको मंगलबारदेखि गाडि चल्न नदिइ आफन्त, स्थानीयबासीन्दा र विभिन्न मुस्लिम संघ संस्था आन्दोलनमा उत्रिएका थिए । आन्दोलनरत पक्षले दोषीलाई कार्बाही, पीडितलाई राहत लगायतका ९ बुँदे माग राख्दै आन्दोलन थालेका थिए । शुक्रबार बिहान हेलिकप्टरमार्फत सप्तरी पुगेका गृहमन्त्री घिमिरेले पूर्व सभासद् मियाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । गएको सोमबार कल्याणपुर गाविस २ विसनपुर चोकमा रहेको आफ्नै पेट्रोल पम्पमा सुतेको अवस्थामा पूर्व सभासद् सदरुल मियाँ हकको हत्या भएको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चुनावका लागि सहमति हुने भए खिलराज रेग्मीले प्रधानन्यायाशीश पदबाट राजीनामा दिन तयार हुनुपर्ने बताएका । ईलाम सदरमुकाममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति कोइरालाले संविधानसभाको चुनावका लागि वातावरण बन्दै गएको भन्दै रेग्मीले प्रधानन्यायाधीशको पद छाडेर नेकपा–माओवादीलगायतका दलहरुलाई चुनावमा ल्याउन सहयोग गर्नुपर्ने बताए । कोइरालाले अहिले नै कांग्रेसले उनको राजीनामा मागी नसकेको भन्दै सहमतिमा बाधक बन्ने अवस्था आए मात्र कांग्रेसले उनको राजीनामा माग्नसक्ने बताए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तानाशाह हुनबाट जोगाउन मात्रै कांग्रेसले बहालवाला प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिन सहमति गर्नु परेको कोइरालाले स्पष्ट पारे ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

उच्च स्तरीय राजनीतिक समितिले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आफ्नो अनसन फिर्ता लिन आग्रह गरेको छ । समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठकले चुनावको मिति घोषणा लगायतका विषयमा सरकारसँग छलफल गर्ने भन्दै महतोलाई अनसन फिर्ता लिन आग्रह गरेको हो । संविधानसभा सदस्य ऐनमा भएको विवाद, चुनावको मिति लगायत विषयमा मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरी छिटो टुंगो लगाउने एमाले नेता रघु पन्तले जानकारी दिनुभयो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

प्रहरीले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको आमरण अनशनमा हस्तक्षेप गरेको छ । ४ दिनदेखि रत्नपार्कस्थित शान्तिबाटिकामा अमरण अनशनमा बसेका महतोको अवस्था गम्भीर बन्दै गएपछि प्रहरीले शुक्रबार हस्तक्षेप गरी वीर अस्पताल भर्ना गरेको छ । प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रदर्शनमा उत्रिएका सद्भावनाका नेता कार्यकर्तामाथि प्रहरीले लाठिचार्ज समेत गरेको छ । प्रहरीको लाठी लागेर महासचिव मनिष सुमनसहितका ४ जना घाइते भएको सद्भावनाले जनाएको छ । सूचना तथा सञ्चारमन्त्री माधव पौडेल र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विद्याधर मल्लिक बिहीबार साँझ अनशनस्थल पुगेर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो साथै अध्यक्ष महतोबाट उठाएका विषयवस्तुलाई सम्बोधन गर्न सरकारका तर्फबाट भइरहेको प्रयासबारे जानकारी गराउँदै यथाशीघ्र निर्वाचन मिति तोकिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर, महतोले माग पूरा नभएसक्म अनशन नतोड्ने महतोले अडान लिनु भएको थियो । संविधानसभाको मिति तत्काल घोषणा गरेर निर्वाचन वातावरण सुनिश्चितता, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, तराईका सशक्त समूहसँग भएका सहमति पालना गर्न तथा नेपाल-भारत सीमा क्षेत्रमा भारतीय मुद्रा सटहीमा हुँदै आएको तस्करी रोक्न ती क्षेत्रमा मुद्रा सटही काउन्टर खोल्नुपर्नेलगायत माग राखेर महतो अनसनमा बस्नुभएको हो । शान्ति बाटिकामा आजैदेखि सद्भावना पार्टीको विद्यार्थी संगठनले पनि रिले अनशन सुरु गरेको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

विभिन्न पेशागत संघ–संगठनको सञ्चाल पापडले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीश पदबाट राजीनामा माग गर्दै आज -याली निकालेको छ । पापडले लोकतन्त्र र राष्ट्रियता खतरामा परेको भन्दै आजबाट नागरिक अभियान सञ्चालन गरेको छ । अख्तियार अनुसन्धान दु्रुपयोग आयोगबाट लोकमानसिंह कार्कीलाई हटाउनुपर्ने, बाधा अड्काउ फुकाउ आदेश खारेज गर्नुपर्ने, दलीय संयन्त्र हटाउनुपर्ने र सर्वोच्च अदालतमा सञ्चारकर्मीलाई प्रवेश दिनुपर्ने माग राखेका छन् । शान्ति बाटिकाबाट सुरु भएको -याली जमल, असन हुँदै बसन्तुपर पुगेको थियो । बसन्तपुरमा भएको सभामा बोल्ने बक्ताहरुले आफुहरुको माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले लोकतन्त्रका पक्षमा आफुले बुलन्द गरेको आवाज नसुनिए राष्ट्रपतिका कार्यक्रम समेत बहिस्कार गर्ने चेतावनी दिएका थिए । -यालीमा विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरुको ठूलो उपस्थिति रहेको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नेपाली काँग्रेसका युवा नेता गगन थापाले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई चुनावी मैदानमा ल्याउनु पर्ने वताउनु भएको छ । थापाले वैद्य नेतृत्वको नेकपा-माओवादी लगायतका आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याएर मंसिरमा जसरी पनि निर्वाचनमा गराउनु पर्ने वताउनु भयो । नेपाली काँग्रेस रुकुमले रुकुमको नुवाकोटमा शुक्रवार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले वैद्य माओवादी लगायतका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन काँग्रेसले छलफल गरिरहेको जानकारी दिनुभयो । उहाँले आफूहरु सकेसम्म छिटो निर्वाचनमा जान चाहेको भएपनि एमाओबादीका कारण चुनावमा जान ढिलाई भइरहेको आरोप लगाउनुभयो । थापाले नेपाललाई सधैभरी संबिधान वरिपरी घुमाएर मुलुकलाई उम्कनै नसक्ने खाडलमा हाल्नु बाहेक अरु प्रगति हुन नसक्ने दावी गर्नु भयो । उहाँले संबिधान सभाको कुरा मात्रै गरेर मुलुकले निकास पाउन नसक्ने भएकाले सवै दल मिलेर अघि वढ्नुको विकल्प नरहेको वताउनुभयो । देशलाई समृद्धितर्फ डोर्याउन दलहरुवीच राष्ट्र र राष्ट्रियताप्रति माया, सद्भाव र एकता हुनु पर्नेमा जोड दिनुभयो । थापाले आगमाी चुनाबमा काँग्रेस पार्टीको कार्यशैली र अर्को चुनावी घोषणा पत्र हातमा लिएर गाउँ आउने भएकाले काँग्रेसलाई जिताउन आग्रह गर्नु भयो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

शान्ति सुरक्षालाई बलियो पार्न रुकुममा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प स्थापना हुने भएको छ । जिल्लामा चोरी, डकैतीका घटना बढ्न थालेपछि नेपाल सरकारले तत्काललाई अस्थायी रुपमा भएपनि सशस्त्र प्रहरी बल स्थापना गर्न लागेको हो । सशस्त्र सुरक्षा बल दाङको भालुबाङबाट खटिएको एक टोलीले रुकुममा क्याम्प स्थापना गर्नका लागी अध्ययन समेत पूरा गरेको छ । रुकुम जिल्ला बिकास समितिको अधिनमा रहेको एक सरकारी भवनमा तत्कालका लागी सशस्त्र प्रहरीको कार्यालय राखिने छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

प्युठानको धार्मिक स्थल एवं पर्यटकीय क्षेत्र स्वर्गद्वारीमा भोलि लाग्ने वैशाख शुक्ल पूर्णिमाको मेला भर्नका लागि भक्तजनहरुको घुईंचो लागेको छ । देशका विभिन्न भाग तथा भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु स्वर्गद्वारी पुग्ने क्रम जारी नै छ । मेलाका लागि पुगेका भक्तजनहरु आज रातभर जाग्राम बस्ने र भोलि मेला भरेर फर्कने गर्दछन् । वि.सं. १९५२ सालको वैशाख शुक्ल पूर्णिमाको दिन स्वर्गद्वारीमा अखण्ड महायज्ञ स्थापना गरिएको थियो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन एक वर्षका लागि आश्रममा ब्राह्मण तथा कर्मचारीहरु बदल्ने र सरुवा बढुवा गर्ने नियम रहेको छ । हाल स्वर्गद्वारी आश्रममा पाँच सय भन्दा बढी ब्राह्मण तथा कर्मचारी रहेको आश्रम मूल व्यवस्थापन समितिले जनाएको छ । यस धाममा विशेष विधि अनुसार दैनिक अखण्ड महायज्ञ सञ्चालन गरिने भएकाले पनि हिन्दूहरु स्वर्गद्वारी धामलाई विशेष महत्वका साथ लिने गर्दछन् । यस पटक पाँच हजार भन्दा बढी विदेशी भक्तजनलाई बस्ने ब्यबस्था मिलाईएको आश्रमका भण्डारी हरि अधिकारीले बताए । मेलामा हजारौं भक्तजन सहभागी हुने अनुमान गरिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

विश्व खाद्य कार्यक्रमले कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत स्थानीयवासीलाई चामल ढुवानीका लागि लिएको रकम लुटपाटमा सहभागी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएकाहरुमा धौलागोह गाविस–३ का अजम रोकाया, वर्षन बम र धनबहादुर बम रहेका छन् भने अन्य दुई जना फरार रहेका बताइएको छ। इलाका प्रहरी कार्यालय थिर्पुबाट गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर बुधबार साँझ जिल्ला प्रहरी कार्यालय कालीकोटमा उपस्थित गराएको हो। सदरमुकामबाट २१ कोस उत्तरपश्चिममा पर्ने धौलागोहमा सदरमुकामबाट विश्व खाद्य कार्याक्रमले सञ्चालन गरेको चामल वितरण गरेको ढुवानीको रकम लिएर गएका एक जना उपभोक्ता समितिका सदस्यमाथि हातपात हुनुका साथै १२ लाख रकम लुटपाट भएको थियो। रकम बोकेर घर गएका धौलागोह गाविस–९ का नर्जङ भण्डारीबाट दुई जनाको समूहले रकम लुटपाट गरेको थियो। जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिइएका तीनै जनामाथि अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

कर्णाली राजमार्ग अन्र्तगत कालिकोटको मान्म–२ शेरीघाटमा गएराति पहिरो गएपछि राजमार्ग अवरुद्ध बनेको छ । अभिरल वर्षासँगै झरेको पहिरोले बाटो अवरुद्ध बनाएपछि यात्रुवहाक सवारी साधनहरु अलपत्र बनेका छन् । पहिरो हटाउनका लागि विहानैदेखि एक्साभेटर लगाइएपनि अझैसम्म सडक सुचारु हुन सकेको छैन ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

राजस्थान रोयल्स भारतमा जारी ईण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिताको दोस्रो छनोट चरणमा प्रवेश गरेको छ । गए राति भएको खेलमा राजस्थानले सनराईजर्स हैदरावादलाई हराउँदै दोस्रो छनोट चरणमा स्थान बनाएको हो । पहिलो छनोट चरणबाट मुम्बई इण्डियन्सलाई हराउँदै चेन्नई सुपर किङ्गस फाइनलमा प्रवेश गरिसकेको छ । आईपीएलको नियम अनुसार अंक तालिकाको शिर्ष दुई स्थानमा रहेन टोली मध्येको विजेता फाइनलमा प्रवेश गर्छ भने पराजित हुने टोलीले दोस्रो छनोट चरणमा खेल्ने अवसर पाउने छ । अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेका टोलीबीचको विजेताले दोस्रो छनोटमा चरणमा पहिले छनोट चरणको पराजित टोलीसँग खेल्ने छ र यी दुई मध्येको विजेताले फाइनलमा स्थान बनाउने छ । दिल्लीमा भएको एलिमिनेटर चरणमा राजस्थानले हैदरावादालाई ४ विकेटले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेटको नोक्सानीमा १ सय ३२ रन बनायो । हैदरावादका शिखर धवनले ३३ रन बनाए भने राजस्थानका विक्रमजित मल्लिकले २ विकेट लिए । जवाफमा १ सय ३३ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ६ विकेट गुमाएर हासिल ग¥यो । विजेता टोली राजस्थानका ब्राड हजले अविजित ५४ रन बनाए भने हैदरावादका ड्यारेन स्यामीले २ विकेट लिए । अब दोस्रो छनोट चरणमा भोलि राजस्थान र मुम्बई इण्डियन्स भिड्ने छन् । यी दुई टोली मध्येको विजेता फाइनलमा प्रवेश गर्नेछ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

अन्तर्राष्ट्रिय हाईस्कुल कराते प्रतियोगिताको १९ औं संस्करण यही जेष्ठ १३ देखि १५ गतेसम्म काठमाडौं हुने भएको छ । नेपाल सितेरियो कराते संघको आयोजनामा हुने प्रतियोगितामा नेपाल लगायत दक्षिण एशीयाली मुलुकहरु भारत र बंगलादेशका खेलाडीहरुले सहभागिता जनाउने पक्का भईसकेको छ । प्रतियोगितामा चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर गरी चार विधामा कुल ५२ स्वर्ण, ५२ रजत र १ सय ४ कास्य पदकको लागि खेल हुनेछ । वि.सं. २०४९ सालदेखि हुँदै आएको अन्तराष्ट्रिय हाईस्कुल कराँते प्रतियोगिताको यो संस्करण आयोजना गर्न १२ लाख ९ हजार नेपाली रुपैयाँ खर्च लाग्ने आयोजकको दावी छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

कप्तान कर्ण लिम्बुको ४ गोलसँगै मच्छिन्द्र क्लवले गोर्खा कप फुटबल प्रतियोगिता विजयी सुरुवात गरेको छ । झरीका बीच दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले सरस्वती क्लवलाई ६–१ ले हरायो । झापाको मुनाल क्लव नेपाल पुलिस क्लवबीच हुने भनिएको पहिलो खेल भने स्थगित भएको थियो । मुनाल क्लव काठमाडौं नआईपुगेका कारण खेल रोकिएहो हो । मच्छिन्दले अब १३ गते हुने खेलमा नेपाल पुलिससँग खेल्ने छ भने त्यही दिन झापाको मुनाल क्लवसँग खेल्ने छ । शुक्रवार हुने खेलमा भने समुह बीका थ्री स्टार क्लव र नवलपरासीको देशभक्त तथा सशस्त्र प्रहरीको एपिएफ र रानी पोखरी कर्नर टिमबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ए डिभिजनका १३ वटा क्लब, बी डिभिजनको उपविजेता टुसाल क्लब, मोफसलको ए डिभिजन विजेता झापाको मुनाल क्लब र बी डिभिजन विजेता नवलपरासीको देशभक्त क्लब गरी १६ टिम सहभागी छन् ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

बेलायतको राजधानी लण्डनमा एक व्यक्तिको नृशंस हत्या गरिएको छ । दक्षिणपूर्वी लण्डनको वूलविच इलाकामा दुई जनाले एक व्यक्तिको छुरा प्रहार गरी मारेर शवलाइ नजिकैको सैन्य क्याम्पमा फालेको प्रत्यक्षदर्शीले जनाएका छन् । सुरक्षा निकायले मारिने ब्यक्ति सुरक्षाकर्मी भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री डेभिड क्यामरुनले घटनामा आतंकवादीको हात रहेको संकेत मिलेको भन्दै यस्ता घटनाबाट ब्रिटेन कहिल्यै नडराउने बताएका छन् । आतंकवाद निर्मूलन विभागले हत्याको जाँच सुरु गरेको लण्डन प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रगतले लतपतिएको मासु काट्ने छुरा बोकेर इस्लामिक नारा लगाइरहेको अवस्थामा हत्यामा संलग्न व्यक्तिको भिडियो दृष्य पनि फेला परेको छ । हत्या गरेर दुई जना त्यहाँबाट भाग्ने कोशिश नगरी आफ्नो तस्वीर लिन भनिरहेका थिए । तत्काल घटनास्थलमा पुगेको प्रहरीले कारवाही गर्दा एकजनालाई गोली लागेको छ । घटनापछि ब्रिटेनमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री क्यामरुनले आफ्नो फ्रान्स भ्रमण नै छोट्याएर स्वदेश फर्किएका जनाइएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

ईरानका चर्चित राजनीतिज्ञ अकबर हाशमी रफसंजानीलाई आगामी जुन १४ तारेख हुने राष्ट्रपति चुनाबमा भाग लिनबाट प्रतिबन्ध लगाइएको छ । ईरानको संबैधानिक संस्था गार्डियन काउन्सिलले उन्लाई राष्ट्रपति पदमा लड्न नपाउने गरी रोक लगाएको हो । सो काउन्सिलले रफसंजानीलाई चुनावमा भाग लिन अयोग्य ठहर गरेको छ । यो प्रतिबन्धपछि रफसंमजानीका समर्थकहरुले पनि चुनाव बहिष्कार गर्ने सम्भावना बढेको छ । गणतन्त्र ईरानका संस्थापक सदश्य समेत रहेका रफसंजानीले ८० को दशकमा ईरान र ईराकको युद्धमा अहम भूमिका निर्वाह गरेका थिए । अउनले अव राजनीतिबाट सन्यास लिनसक्ने बिश्लेषण गरिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

पाकिस्तानको क्वेटा शहरमा बम विष्फोट हुँदा १२ जना मारिएका छन् । दक्षिणी शहर क्वेटामा पार्किङमा रहेको रिक्सामा गराइएको उक्त विष्फोटमा परी थुप्रै घाइते भएका छन् । क्वेटाबाट बुलचिस्तानतर्फ गईरहेको प्रहरी बोकेको ट्रकलाई लक्षित गरी विस्फोट गराइएको आशंका गरिएको छ । तर, प्रहरी बोकेको ट्रक उक्त स्थानमा पुग्नु अगावै विष्फोट भएकाले प्रहरीको टोली भने बच्न सफल भएको बीबीसीले जनाएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नेपालमा चार लाख चालिस हजार निजी साना हतियार रहेको जनाइएको छ । आज राजधानीमा डब्लुपीडी नामक संस्थाले गरेको कार्यक्रममा ५५ हजार साना हतियार मात्रै वैधानिक रुपमा रहेको र अरु सवै अवैध रहेको बताइएको हो । तर, ती मध्ये अधिकांश घरेलु हतियार भएको पनि बताइएको छ । हातहतियार तथा खरखजाना ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको पनि कार्यक्रममा बताइयो । पूर्व माओवादी लडाकूहरुसँग अहिले पनि ६ हजारको हाराहारीमा साना हतियार भएको भन्दै हतियार नियन्त्रण गर्न सरकारले ठोस रुपमा अगाडि बढ्नु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर ८० वर्षीय जापानी नागरिक युचुरा मिउरोले नयाँ कीर्तिमान बताएका छन् । मिउरोले नेपाली समय अनुसार आज विहान ८ बजेर २५ मिनेट जाँदा सगरमाथाको सफल आरोहण पूरा गरेर नेपाली नागरिक मिनबहादुर शेरचनले बनाएको बृद्ध उमेरमा सगरमाथा आरोहण गर्ने व्यक्तिको रेकर्ड तोडेको बताईएको छ । शेरचनले यसअघि सन् २००८ मा ७६ वर्षको उमेर सगरमाथा आरोहण गरेर सबैभन्दा बृद्ध नागरिकले सगरमाथा चढेको कीर्तिमान राखेका थिए । जापानी नागरिक मिउरोले राखेको नयाँ कीर्तिमान भने ‘छोटो’ समयमा लागि मात्रै हुन सक्ने जनाइएको छ । कीर्तिमानी नेपाली आरोही शेरचन आफ्नो रकर्ड पुनः कायम गर्न सगरमाथा आधार शिविरतर्फ लागेका छन् । ८१ वर्षका उनले सगरमाथाको सफल आरोहण गरे पुनः विश्वकै बढी उमेरमा सगरमाथा आरोहण गर्ने व्यक्तिको ‘रेकर्ड’ कायम गर्ने जनाइएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

श्रीमती, सासू र ससुरालाई धारिलो हतियार प्रहार गर्ने कमान सिंह डाँगीलाई जिल्ला अदालत चैनपुर संखुवासभाले १२ वर्षको कैदको फैसला सुनाएको छ । न्यायाधीश शालिकग्राम कोइरालाको एकल ईजलासले चैनपुर ९ डाँगी गाँउका कमानसिंहलाई ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद फैसला सुनाएको हो । रक्सीले मातेको कमानसिहले सिद्धपोखरी ८ केरावारीमा घरमा सुतिरहेको अवस्थामा घरको ढोका फोडेर श्रीमती सम्झना डाँगी, सासु गंगा खनाल र ससुरा खड्गवहादुर खनाललाई २०६८ असोज २९ गते राति धारिलो हतियार प्रयोग हत्या प्रयास गरेका थिए । संखुवासभा सिद्धपोखरी ८ केरावारीका खड्गवहादुर खनालले आफ्नै ज्वाई डाँगी विरुद्ध ज्यान मार्ने उद्योगमा २०६८ असोजमा द्ददर्ता गर्नुभएको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

धादिङमा प्रहरीले सदरमुकामको बजार क्षेत्रभित्र यात्रुबाहक सवारी साधनलाई प्रवेश गर्न रोक लागाएको विरोधमा आज स्थानीयवासीले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले धादिङवेशीका पसलहरु बन्द समेत गराएका थिए भने यातायात र शैक्षिक संस्थाहरु समेत ठप्प रहे । जिल्ला प्रहरी कार्यालयमा नवनियुक्त प्रहरी नायव उपरीक्षक अशोक सिंहले स्थानीय वासिन्दालाई जानकारी नदिई बजार क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । प्रहरीले बजारक्षेत्रको भीड नियन्त्रण तथा सरसफाईका लागि बजार क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नवलपरासीको सुनवलमा बिहीबार कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् । काठमाडौबाट वुटवलका लागि छुटेको लु १ च १७८१ नम्वरको कार अनियन्त्रित भएर सडक किनारको ढुङ्गामा ठोक्किदा वुटवल ५ का ४८ वर्षीय पशुपति जोशीको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका जोशीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा ज्यान गएको हो इलाका प्रहरी कार्यालय वुटवलले जनाएको छ । घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा नै उपचार भइरहेको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सप्तरीमा हत्या गरिएका पूर्वसभासद सदरुल मियाँको हत्याको बिरोधमा आन्दोलनमा उत्रिएका मुस्लिम समुदायले शुक्रवार बेलुका ६ बजेसम्मका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारले आफूहरुको केही माग सम्बोधन गरेकाले सदरुलको अन्तिम संस्कार गर्नका लागि शुक्रवार बेलुकीसम्मका लागि जारी बन्द समेत खोलिएको मुस्लिम नेता हाजी अव्दुल मियाँले जानकारी दिनुभयो । मियाँका अनुसार शुक्रवार बिहान साढे आठ बजे सदरुलको अन्तिम संस्कार जलेजा गर्ने कार्यक्रम तय भएको छ । अन्तिम संस्कार सकेपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने र बन्द गर्ने नगर्ने निर्णय गर्ने मियाँले जानकारी दिनुभयो । सरकारले पीडित परिवारलाई दिने भनिएको १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने पीडित परिवारले घोषण गरेका छन् ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले संविधानसभाको निर्वाचन सुनिश्चित गर्नका लागि आफूहरु थ्रेसहोल्ड राख्ने र संविधानसभा सदस्य संख्या घटाउने विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । आज राजधानीमा आयोजित कार्यक्रममा सापकोटाले निर्वाचनका लागि २५ बुँदे बाधा अडकाउ फुकाऊ र सरकार विघटन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताए । कार्यक्रममा नेकपा एमालेका सचिव शंकर पोख्रेलले विघटित संविधानसभामा झण्डै सय जना सभासद् रहेको नेकपा–माओवादीको मागप्रति ध्यान नदिने तर १ प्रतिशतको थ्रेसहोल्ड राख्न नहुने बखेडा झिक्ने एमाओवादी चाल मंसिरमा निर्वाचन नगर्ने खेल भएको बताए । त्यसैगरी नेपाली कांग्रेसका नेता द्वीपकुमार उपाध्यायले चुनावको मुखमा आएर निर्वाचन चाहने चार दलवीच नै विवाद हुनु दुखद भएको टिप्पणी गर्दै अब चार दलले निर्वाचनको विषयमा एउटै धारणा बनाएर असन्तुष्ट दलहरुसँग छलफल थाल्नु पर्ने सुझाव दिए । त्यस्तै, नेकपा–माओवादीका सचिव देव गुरुङले २५ बुँदे बाधा अडकाउ फुकाउ कायम रहेसम्म निर्वाचन हुन नसक्ने र आफ्नो पार्टीले पनि निर्वाचनमा भाग नलिने स्पष्ट पारे । उनले उच्चस्तरीय राजनीतिक समितिमा बस्न र मन्त्री परिषदमा ठाँउ पाउन आन्दोलन नगरेको भन्दै निर्वाचन गर्ने भए गोलमेच सम्मेलन गरेर २५ बुँदे बाधा अडकाउ फुकाउलाई परिवर्त गरेर अघि बढ्नुपर्ने जिकिर गरे । सचिव गुरुङले अहिलेको निर्वाचनलाई विदेशीको नेपाल समाप्त पार्ने खेल भइरहेको बताउनुभयो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अघिल्लो संविधानसभाको निर्वाचन कानून अनुसार नै निर्वाचन गर्नुपर्ने बताएका छन् । काठमाडौंको चोभारमा आज आयोजित कार्यक्रममा दाहालले थ्रेसहोल्ड पनि राख्न नहुने र फौजदारी मुद्दा लागेकाले पनि चुनाव लड्न पाउनुपर्ने बताए । थ्रेसहोल्ड राख्ने विषयमा सहमति नभएको उनको दाबी थियो । कार्यक्रममा प्रतिगामी शक्तिहरुले चलखेल बढाएको जिकिर गर्दैै उनले संविधानसभाको निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको बताए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकारको एकमात्र चाहना निर्वाचन गराउनु रहेको बताएका छन्। उनले दलहरुसँग निर्वाचनसम्बन्धी कानुनमा सहमति जुटाउने प्रयास भइरहेको बताए। रिपोर्टस् क्लबको ज्ञापन पत्र बुझ्दै अध्यक्ष रेग्मीले हालको राजनीतिक संकट निर्वाचनले नै निकास गर्ने भएकाले यो निर्वाचनमा सबैभन्दा धेरै सहभागिता र समावेशिता हुनु जरुरी रहेको बताए।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. रवीन्द्र शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको मन्त्रिपरिषदको वैठकले पूर्व सचिव शाक्यलाई योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातोकत्तर गरेका शाक्य २०५५ सालमा सेवा निवृत्त भएका थिए । बाबुराम सरकारले नियुक्त गरेका दिपेन्द्रबहादु क्षेत्रीले योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएपछि आयोग पदाधिकारीविहीन रहेको थियो । त्यसैगरी सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेको छ । कांग्रेस र एमालेले बाबुराम सरकारले गठन गरेको सुकुम्बासी आयोगका पदाधिकारी हटाउन माग गरिरहेको बेला आज बसेको मन्त्रिपरिषद बैठकले आजैका मितिदेखि लागू हुनेगरी केन्द्र तथा जिल्लाका सुकुम्वासी आयोगका पदाधिकारीहरुलाई हटाउने निर्णय गरेको हो । त्यस्तै मन्त्रिपरिषद बैठकले सप्तरीका पूर्व सभासद सदरुल मियाँ हकको हत्याको छानविन गर्न सर्वोच्चका पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । साथै मियाँका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरिएको छ । त्यसैगरी सरकारले सगरमाथा आरोहणमा गएका ज्येष्ठ नागरिक मीनबहादुर शेरचनलाई १० लाख दिने र उनले सगरमाथा चढ्दा तिनुपर्ने राजश्व छुट दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री पौडेलले जानकारी दिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

कञ्चनजंघा हिमाल आरोहण गरेर फर्कने क्रमममा हिम पहिरोमा परेर ५ जनाको ज्यान गएको छ । दुई जना हंगेरियन, एक जना कोरियन र दुई जना नेपाली नागरिकको ज्यान गएको पर्यटन उद्योग महाशाखाले जनाएको छ । प्रहरीका अनुसार संखुवासभा मकालु गाविसका सोनाम शेर्पा र विवर गुरुङको पहिचान भएको छ । महाशाखका सहसचिव मोहन कृष्ण सापकोटाका अनुसार विस्तृत विवरण शुक्रबार मात्र आउनेछ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

बझाङको एक विद्यालयका प्रधानाध्यापक एक वर्षदेखि विद्यालयमा अनुपस्थित छन् । अभिभावकहरुका अनुसार उनी ६ महिना/ वर्षदिनमा एक पटक विद्यालय आउँछन् र वर्षभरीको हाजिर गरेर तलब सुविधा बुझ्छन् । पाँच बर्षदेखि स्याँडी गाविसको केदार नमूना प्राविको प्रधानाध्यापक रहेका प्रकाश बोहरा झण्डै एक वर्षदेखि विद्यालयमा अनुपस्थित भएपनि एकैपटक वर्षभरीको हाजिरी गरेर नियमित रुपमा तलब बुझ्ने गरेको अभिभावकहरुको आरोप छ । प्रधानाध्यापक बोहराले दाई नाता पर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल बोहरालाई प्रभावमा पारी मनपरि गर्दै आएको विद्यालय व्यवस्थापन समितिकै एक सदस्यले बताए । विद्यालय श्रोतका अनुसार प्रधानाध्यापक बोहोराले २०६९ असारमा विद्यालयमा ६ महिनापछि आएर सबै हाजिरी गरेका थिए । त्यसपछि उनी विद्यालयमा उपस्थित छैनन् । विद्यालय श्रोतका अनुसार बोहोरा भारतको पिथौरागढमा अर्को जागिर खान्छन् र उतै बस्छन् । विद्यालयमा भएको मनपरी विरुद्ध आवाज उठाउँदा हातखुट्टा भाँच्ने धम्की आएको एक अभिभावकले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल बोहोराले शिक्षकका बारेमा अनावश्यक हल्लामात्र भएको दावी गर्नुभयो । जिल्ला शिक्षा अधिकारी जगन्नाथ उपाध्यायले यथासिघ्र विद्यालयमाथि कारबाही प्रकृया अघि बढाइने बताउनुभयो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

दार्चुलाको गोकुलेश्वरमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बस धनी कञ्चनपुरका कृष्ण भट्ट, बस चालक कञ्चनपुरकै करन सिंह साउद, दार्चुलाका मोतिराम भट्ट र गोपाल सिंह खत्री रहेका छन् । त्यस्तै भारत बलुवाकोटका मोतिराम भट्ट, महादेव भट्ट र मथुरा भट्ट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि धनगढी र १३ जनालाई भारत लगिएको छ । दुर्घटनामा परी घाइत हुनेहरुमा १० जना भारतीय नागरिक रहेका छन् । सामान्य घाइते भएकाहरुको गोकुलेश्वर स्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । महेन्द्ररनगरबाट दार्चुलातर्फ जाँदै गरेको पवनदुत यातायातको ना४ख ८२८५ नम्बरको बस बिहान ६ बजे गोकुलेश्वर–६ को ठुलसैनी सडकबाट ५० मिटर तल खसेको थियो । बस पल्टिदा केही यात्रुभित्र च्यापिएकाले चमेलिया जलविद्युत आयोजनाबाट मेसिन ल्याएर बसको बडी काटेर उद्धार गरिएको थियो । बसमा ६० जना भन्दा बढी यात्रु रहेको प्रहरीले जनाएको छ । उकालो र मोड भएको ठाउँमा ब्याक गरेर बस अगाडी बढाउने क्रममा चिप्लिएर दुर्घटना भएको बताईएको छ । क्षमता भन्दा बढी यात्रुकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । एक बर्षअघि मात्रै सोही क्षेत्रमा तीन वटा ठूला दुर्घटना भएका थिए । साघुरो बाटो भएकोले अधिकांश सवारीसाधान मोडमा रोकी ब्याक गरेर मात्रै अगाडि बढाउने गरिन्छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

संयुक्त अरब इमिरेट्स्का राजकुमार शेख मोहम्मद अब्दुल्लाह मोहदल थानीले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । साग्रिला नेपाल एभरेष्ट एक्सपिडिसनमार्फत आरोहण गर्न गएका उहाँले नेपाली समय अनुसार वुधवार बिहान ९ बजेर ५९ मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । नेपालमा सर्वसाधारणलाई शिक्षाको अधिकारका पक्षमा जनचेतना जगाउने र सगरमाथा आरोहणबाट केही रकम पनि संकलन गर्ने उद्देश्यसहित उहाँको टोली सगरमाथा आरोहणमा गएको हो । राजकुमार शेखसँग आएका २४ जनामध्ये १५ जनाको टोलीले शनिबार नै चुचुरोमा पाइला टेकेको थियो । यसबर्ष सगरमाथाको सफल आरोहण गर्नेको संख्या वुधवार विहानसम्ममा २ सय ९८ जना पुगेको छ । यही मे १० (बैशाख २९) बाट शुरु भएको आरोहण कार्य मौसमले साथ दिएमा मे २५ सम्ममा सकिने सम्पर्क अधिकारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यसबर्ष सगरमाथा आरोहणका लागि ३० आरोहण दलका ३ सय ३२ जना आरोहीले आरोहण अनुमति लिएका थिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सहिद स्मारक सी डिभिजन लिग छनौट फुटबल प्रतियोगिता अन्तर्गत वुधवार भएका खेलमा देउराली क्लव, मिरमिरे युवा क्लब, नख्खु आदर्श युवा क्लब र जनमार्ग युथ क्लब विजयी भएका छन् । वुधवारको पहिलो खेलमा देउराली क्लबले युथ स्टेप क्लब अफ ईमाडोललाई ३–२ गोलले पराजित गरेको छ । देउरालीका लागि साजन ढुङ्गेलले ६, सुजन थापा मगरले ४४ र ५२ औं मिनेटमा गोल गरेका थिए भने युथ स्टेटका लागि अमिर लामाले ६९ र ७७ औं मिनेटमा गोल गरेका थिए । यस्तै दोश्रो खेलमा मिरमिरे युवा क्लबले बाजुल फ्रेण्डस क्लबलाई ८–० गोलले पराजित गरेको छ । मिरमिरेका लागि सुरज तामाङ्गले १०, विजय अधिकारीले १६, अर्जुन राई १८, साजन खत्रिले २३, २९ ४० र ४४ औं मिनेटमा गोल गरेका थिए । तेश्रो खेलमा नख्खु आदर्श युवा क्लबले दि एकता युवा क्लबलाई ३–१ गोलले पराजित गरेको छ । नख्खुका लागि प्रविन मानन्धरले ३३, मनोज जोशीले ६० र निशान तामाङ्गले ७६ औं मिनेटमा तथा दि एकताका लागि रविन देउलाले ४०+१ औं मिनेटमा गोल गरेका थिए । चौथो खेलमा जनमार्ग युथ क्लबले बालाजु फुटबल एसोसियनलाई ३–१ गोलले पराजित गरेको छ । जनमार्गका लागि मनोज बुढाथोकीले ३१, सुरेन्द्र अधिकारीले ४०, गोकर्ण अधिकारीले ६३ औं मिनेटमा गोल गरेका थिए भने बालाजुका लागि गनेन्द्र थापाले ५५ औ मिनेटमा गोल गरेका थिए । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार संघको आयोजनामा सानोगौचरण खेल मैदानमा प्रतियोगिता संचालन भईरहेको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

भारतमा चलिरहेको आइपीएल क्रिकेटको सेमिफाइनलको हिजोको खेलमा माइकल हसी र सुरेश रैनाले विस्फोटक व्याटीङ गरेपछि चेन्नई सुपरकिंगस मुम्बइ इन्डियन्सलाई ४८ रनले हराउँदै फाइनलमा पुगेको छ । भारतमा जारी छैठौं संस्करणको इन्डियन्स प्रिमियिर लिग आइपीएलको गएराति भएको खेलमा टस जितेर पहिला व्याटीङ गरेको चेन्नईले निर्धारित २० ओभरको खेलमा १ विकेट गुमाउदै १९२ रन बनायो । चेन्नईका लागि माइक हसीले अविजित ८६ रनको योगदान दिए । ५८ बल खेलेका हसीले १० चौका र दुई छक्का प्रहार गरे । यस्तै सुरेश रैनाले पनि अविजित ८२ रनको योगदान दिए । ४२ बल खेलेका रैनाले ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै मुरली विजयले २३ रनको योगदान दिएका थिए । मुम्बईका लागि किरन पोलार्डले विकेट लिएका थिए । १९३ रनको विजयी लक्ष्यका साथ मैदानमा ओर्लेको मुम्बई इन्डियन्सले निर्धारीत २० ओभरको खेलमा १८ दशमलव ४ ओभर खेल्दै सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । मुम्बइका लागि ड्यान स्मिथले सर्वाधिक ६८ रनको योगदान दिएका थिए । यस्तै रोहित शर्मा २४, दिनेश कार्तिका ११ रन बनाएर आउट भए । मुम्बईका अन्य व्याट्समेनले खुलेर खेल्न सकेनन् ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

बर्मामा जातीय दंगा भड्काएको आरोपमा दोषी ठहर गर्दै सात जनालाई जेल हालिएको छ । गत मार्च महिनामा बर्माको मेक्तिला शहरमा भएको जातीय दंगामा दोषी ठहर भएका सात जना मुश्लिमलाई जेल चलान गरिएको हो । दंगाकै क्रममा भिक्षुको हत्या गरेको आरोप लागेका एक जनालाई ३४ बर्षको जेल तोकिएको छ भने अरुलाई १४ बर्षको जेल तोकिएको छ । घटनामा संलग्न भएको आरोपमा एक सयभन्दा बढी मुश्लिम तथा बौद्ध धम्र्रावलम्बीलाई पक्राउ गरिएको थियो । मुश्लिम र बौद्ध धर्मावलम्बीबीच भएको दंगामा ४३ जना मारिएका थिए भने सयौं घर जलेर नष्ट भएको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

अमेरिकी सेनाले ग्वान्तानामो क्षेत्रका अमेरिकी जेलमा इन्टरनेट सेवा बन्द गराएको छ । एक बेनामे ह्याकर समुहको चेतावनीपछि अमेरिकी सैनिकले उक्त क्षेत्रको इन्टरनेट सेवा बन्द गराएको हो । चेतावनीका कारण सैनिकले प्रयोग गर्ने कम्प्युटरबाट पनि फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोगमा रोक लगाइएको छ । ह्याकर समूहले वेबसाइट मार्फत जेलमा भैरहेको गतिविधिलाई असर पुर्या्उने धम्की सहितको सन्देश पठाएको छ । जेलमा भैरहेको भोक हडताललाई सहयोग गर्ने उक्त ह्याकर समूहले बताएको छ । गएको अप्रिल महिनाको अ���्त्यमा जेलमा एक सय ६६ कैदी मध्य एक सय कैदीले भोक हडताल सुरु गरेका थिए । उनीहरुले जेलको दयनीय अवस्था र कारागारमा लम्बिरहेको आफ्नो समयका विरुद्धमा हडताल सुरु गरेका हुन् । यस अघि यही विषयलाई लिएर अन्य विरोध कार्यक्रम पनि भैरहेका थिए । विरोध सुरु भएको सय दिन पुगेको अवसरमा ह्याकर समुहले ‘अपरेशन ग्वान्तानामो’ नाम राखेर नयाँ विरोध कार्यक्रम सुरु गरेका हुन् । यो समुहले सामाजिक सञ्जाल प्रयोग गरेर सर्वसाधारणलाई जेल भित्र भैरहेको विरोधको समर्थनमा ट्वीट, इमेल र फ्याक्स पठाउन प्रोत्साहन गरिरहेको छ । यस्ता अनलाइन सामग्री जेल भित्रबाट पनि आएका थिए । नयाँ वेबसाइटमा ह्वाइट हाउसमा काम गर्ने कर्मचारीसँगै अरु सैनिक अड्डाको सम्पर्क नम्बर समेत सार्वजनिक भएको छ । उक्त समुहले ग्वान्तानामो जसरी पनि बन्द गराउने पक्षमा रहेको बताएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

स्थानिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । बुधबार सुनको भाउ बजारमा तोलामा १ सय ४५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य तोलाको ५० हजार १ सय ५५ रुपैयाँ कायम गरेकोक छ । मंगलबार एकै दिन छापावाला सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँ बढेर कारोबार भएको थियो । सोमबार सुनको मूल्य २२ महिना यताकै सबैभन्दा तल ४८ हजार ४ सय ५० रुपैयाँमा झरेको थियो । त्यसैगरि, बुधबार तेजाबी सुनको मूल्य पनि तोलामा १ सय ४५ रुपैयाँ घटेर ४९ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ५० हजार ५० रुपैयाँ र सोमबार ४८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर ओरालो लागेको चाँदीको मूल्य बुधबार भने घटेको छैन् । बुधबार नेपाली बजारमा चाँदी तोलाको ८ सय ६४ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य ३५ रुपैयाँ बढेको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सप्तरीको कोईलाडी बर्साइन ५ मा अन्दाजी १२–१४ वर्षकी एक किशोरीको शब जलेको अवस्थामा भेटिएको छ । हत्यापछि नचिनिने गरी पेट्रोल छर्केर जलाइएको उनको शव बुधबार विहान कोईलाडी बर्साइन ५ स्थित जिता खोला किनारामा फेला परेको प्रहरीले जनाएको छ । अनुहार पूर्ण रुपमा जलिसकेको ती किशोरीको सनाखत भने हुन सकेको छैन । प्रहरीका अनुसार ती किशोरीको पहिचान खुल्न न सकेको भन्ने उद्देश्यले हत्याराले हत्यापछि पेट्रोल छर्केर उनको अनुहारका साथै शरीरको ८० प्रतिशत भाग जलाएका छन् । स्थानीयबासीहरुले अन्य कुनै गाउँबाट ल्याएर कसैले बलात्कारपछि ती किशोरीको विभत्स ढंगले हत्या गरेको आशंका गरेका छन् । यद्यपी प्रहरीले भन्ने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र तथ्य कुरा बाहिर आउने जनाएको छ । किशोरीको शव बुधबारै पोष्टमार्टमका लागि स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

युगकवि सिद्धिचरण श्रेष्ठको १०२ औ जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । यसै अवसरमा राजधानीको धर्मपथमा रहेको कवि सिद्धिचरण श्रेष्ठको शालिकमा माल्यार्पण गरियो । सिद्धिचरण श्रेष्ठका तिमै्र सुन्दर हरियालीमा, तिम्रै सुन्दर बक्षस्थलमा यो कविको शैषवकाल बित्यो, हाँस्यो डुल्यो बनकुञ्ज घुम्यो , मेरो प्यारो ओखलढुंगालगायतका रचना चर्चित छन् । बिक्रम सम्वत १९६९ जेठ ९ गते ओखलढुंगामा जन्मिएका कवि श्रेष्ठको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

यौनिक अल्पसंख्यक समुदायको हक हितका लागि लड्ने भन्दै नयाँ संस्थाको स्थापना भएको छ । यसै क्षेत्रमा सक्रिय रहेकाहरु मिलेर समावेशी मञ्च नेपाल स्थापना गरेका हुन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै मञ्चका अध्यक्ष धनबहादुर पुनले भौगोलिक, जातीय, साँस्कृतिक विविधताले भरिएको नेपालमा बसोबास गर्दै आईरहेका यौनिक अल्पसंख्यकको मानव अधिकार, मौलिक हकको संरक्षण गरि जनचेतना र सशक्तिकरण गर्ने उद्देश्यले नयाँ संस्था खोलिएको जानकारी दिनुभयो । उहाँले विश्व मानवअधिकार घोषणा पत्र १९४८ ले सबै मानिषको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न नयाँ संस्था खोलेको बताउनुभयो । यस अघि निलहिरा समाजले यौनिक तथा अल्पसंख्यकहरुको हक हितका लागि काम गर्दै आएको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

ओखलढुंगाको रानीवनमा हिजो हेलिकप्टर दुर्घटना भएको भन्दै झूठो समाचार फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्ने रानीवन ५ निवासी राजकुमार श्रेष्ठ हुन् । श्रेष्ठले हेलिकप्टर दुर्घटना भएको खबर दिएपछि ओखलढुंगास्थित स्थानीय संवाददाताहरुले राजधानीस्थित समाचार केन्द्रहरुमा खबर पठाएका थिए । त्यसैका आधारमा जिल्लास्थित प्रहरी निकायहरुले पनि सूचनाको जानकारी गराएका थिए भने राजधानीबाट कतिपय संञ्चारमाध्यमले खबरसमेत प्रकाशन तथा प्रशारण गरेका थिए । उनैको सूचनाको आधारमा जिल्लाबाट सुरक्षाकर्मीहरु घटनास्थलमा उद्धारका लागि भन्दै गएका थिए । झूठो खबर दिएको अभियोगमा श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

विद्यार्थी संगठनका पदाधिकारीहरुले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी विद्यार्थी भर्ना गरिएको स्वीकार गरेका छन्। फर्जी विद्यार्थी भर्ना भए पनि त्रिभुवन विश्वविद्यालयले जेठ २३ गतेका लागि घोषणा गरिसकेको स्ववियू निर्वाचन भने स्थगित नहुने ती संगठनका पदाधिकारीहरुले बताएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा विद्यार्थी संगठनका नेताहरुले फर्जी विद्यार्थी भर्ना गरिएको स्वीकार गर्दै स्ववियु निर्वाचन फर्जि विद्यार्थी र सक्कली विद्यार्थीबीच प्रतिस्पर्धा हुने बताए। नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले सबै विद्यार्थी संगठनले फर्जी विद्यार्थी भर्ना गरिएको बताउँदै फर्जी विद्यार्थी भर्ना भए पनि निर्वाचन भने स्थगित नहुने बताए। नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइलीले पनि सबै संगठनले फर्जी विद्यार्थी भर्ना गरेको स्वीकार गरे। फर्जी विद्यार्थी भर्ना गर्नेमा एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी सघ र अनेरास्ववियू रहेको आरोप लगाउँदै ती संगठनको तुलनामा भने आफ्नो संगठनले नगण्य मात्रामा फ���्जी विद्यार्थी भर्ना गरेको बताए। केही क्याम्पसमा भने चरम विवाद रहेको भन्दै त्यस्ता विवाद भएको क्याम्पसमा भने अखिल क्रान्तिकारीले निर्वाचन गर्न नदिने रसाइलीले दाबी गरे। एमाओवादी निकट अखिल क्रान्तिकारीका सचिवालय सदस्य गंगाराम तिमिल्सिनाले पनि आफ्नो संगठनले फर्जी विद्यार्थी भर्ना गराएको स्वीकार गरे। आफ्नो संगठनलाई मात्र फर्जी विद्यार्थी भर्ना भएको आरोप लगाए सबै विद्यार्थी संगठनहरुले त्यस्तो भर्ना गराएको उनको भनाइ थियो।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

त्रिभुवन विश्वविद्यालयअन्तर्गत मुलकभरका कलेजमा हुन गइरहेको स्ववियु चुनावमा ११ विद्यार्थी संगठनले संयुक्त प्यानल बनाउने भएका छन् । एकीकृत माओवादीनिकट अखिल (क्रान्तिकारी) को बागबजारस्थित कार्यालयमा बसेको 'समानुपातिक र समावेशी' पक्षधर विद्यार्थी संगठनले उक्त निर्णय गरेको हो। स्ववियु चुनावलाई स्वच्छ र पारदर्शी बनाउनेबारे बैठकले चारबुँदे निर्णय समेत गरेको छ। अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जागृत रायमाझीले ११ विद्यार्थी संगठनको संयुक्त बैठकले गरेको निर्णय कार्यान्वयनका लागि देशभरका कलेजमा संयुक्त रूपमा पहल गरिने बताए। रत्न राज्यलक्ष्मी कलेज र त्रिभुवन विश्वविद्यालयमा वैद्य पक्षधर माओवादीनिकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेकाले चुनावलाई मध्यनजर गरी ताला खोलाउन पहल गर्ने निर्णय बैठकले गरेको छ। यसैगरी, स्ववियु चुनावको मुखमा रत्नराज्य लगायत कलेजमा नियमविपरीत गरिएको एकमुष्ठ विद्यार्थी भर्ना खारेजी हुनुपर्ने, रत्नराज्य, पाटनलगायत कलेजमा जनआन्दोलनका घाइतेको नाममा नक्कली कार्ड बनाएर गरिएको विद्यार्थीको भर्ना खारेजीको माग गर्ने निर्णय भएको छ। बैठकमा अखिल (क्रान्तिकारी), मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक), तराई मधेसी विद्यार्थी फ्रन्ट, मधेसी विद्यार्थी फोरम, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन, विद्यार्थी मञ्च, नेपाल लोकतान्त्रिक विद्यार्थी संगठन, क्रान्तिकारी विद्यार्थी नेपाल, अग्रगामी विद्यार्थी युनियन, नेपाल विद्यार्थी परिवार र अखिल पाँचौ गरी कूल ११ विद्यार्थी संगठन सहभागी थिए। बैठकमा अनेरास्ववियु र नेवि संघ भने सहभागी भएनन्। मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक) का अध्यक्ष कपिलेश्वर यादवले आफूहरू संगठनको प्रभावको आधारमा नेतृत्वसहितको संयुक्त स्ववियु निर्माणमा सहमत भए पनि अखिल क्रान्तिकारीले हालै सबै कलेजमा अध्यक्ष उम्मेदवार घोषणा गरेकोमा असन्तुष्टि रहेको बताए।

Like
  • 0 users like this.
Get our toolbar!
Review radiobeta.com on alexa.com

New widget!

Give your site visitors the best radio experience.
Easy and Free: Get Code!


Radios Argentina - Radios México - Francia Radios - Cameroon Radios - China Radios - Radios España - United States Radios - Radios Colombia - Radios Brazil - Germany Radios
2013 © RadioBeta - All rights reserved