Radio Radio Xpress 88.4 FM

Radio Xpress 88.4 FM

Nepalgunj, Bheri, Nepal

Radio Xpress
Radio Xpress

बाजुराको कोटिला गाउँ विकास समिति वडा नम्बर १ कापकोटस्थित ठांडागडामा लाखौं मूल्य बराबरको सुनचाँदी भेटिएको छ । गोठालो गएका बालबालिकाहरुले जमिनमुनि गाडेको अवस्थामा तामाको गाग्रीभित्र गरगहना फेला पारेको जनाइएको छ । जमिनमुनि ६ तोला सुन, १ केजी १५ तोला चाँदी, मुगा तथा चाँदीका सिक्काहरु लगायत फेला परेको हो । बालबालिकाहरुले गत शुक्रबार ती गरगहना फेला पारेपनि भागमा नमिलेपछि प्रहरीमा खबर पुगेको बताइएको छ । फेला पारिएका सामग्री कोल्टीस्थित बिमानस्थलको सुरक्षा घरमा राखिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

ब्राजिलमा सन् २०१४ मा हुने बिश्वकप फुटवलको टिकट मूल्य निर्धारण र सार्वजनिक यातायातको मूल्य बृद्धी गरेको बिरोधमा जनता सडकमा उत्रेका छन् । हजारौंको संख्यामा साउ पाउलो शहरमा उत्रेका जनताले सरकार बिरोधी नारा लगाउँदै ठाउँ ठाउँमा आगजनी गर्नुका साथै ब्यापक तोडफोड गरेका छन् । प्रदर्शनकारीले ब्रास्लिया शहरमा रहेको नेशनल कंग्रेसको भवनमा चढी प्रदर्शन गरेका छन् । ब्राजिलमा जारी कन्फडरेशन कप फुटवल प्रभावित गर्न रंगशाला अगाडी हजारौं प्रदर्शनकारी डेरा जमाई बसेका छन् । जसका कारण फुटवल प्रेमीहरु खेल हेर्नबाट बन्चित भएका छन् । प्रदर्शन नियन्त्रणका लागि खटेका प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा अधिकांश सञ्चारकर्मी छन् । ब्राजिल सरकारले कन्फडरेशन कप फुटवल शुरु भए लगत्तै सार्वजनिक यातायातको भाडा बृद्धी गरेको हो । मूल्य नघटाएसम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीको अडान छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

इङ्गल्याण्ड र वेल्सको संयुक्त आयोजनामा जारी आईसीसी च्याम्पियन्स ट्रफी एक दिवसिय क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह एबाट इङ्गल्याण्ड र श्रीलंका तथा बीबाट भारत र दक्षिण अफ्रिकाले अन्तिम चारमा स्थान बनाएका हुन् । भोलि हुने पहिलो सेमिफाइनलमा इङ्गल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्दा पर्सी भारत र श्रीलंका आमने सामने हुनेछन् । प्रतियोगिता अन्तर्गत गए रातिको खेलमा श्रीलंकाले अष्टेलियालाई हराउँदै अन्तिम चारको टिकट पक्का गरेको हो । लन्डनमा श्रीलंकाले अष्टेलियालाई २० रने हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ५३ रन बनायो । श्रीलंकाको इनिङ्गमा माहेला जयवर्दिनेले अविजित ८४ रन बनाए भने अष्टे«लियाका मिचेल जोनसनले ३ विकेट लिए । जवाफमा २ सय ५४ रनको लक्ष्य पछ्याएको अष्टे«लियाले ४२ ओभर ३ बलमा सबै विकेटको नोक्सानीमा २ सय ३३ रन जोड्यो । कङगारु टोली अष्टेलियाका एडम भोगसले ४९ रन बनाए भने श्रीलंकाका नुवान कुलसेखराले ३ विकेट लिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सुनचाँदी व्यवसायी र सरकारबीच मंगलबार बसेको द्धिपक्षीय वार्ता निष्कर्षमा पुग्न सकेन । वार्ता सकरात्मक रुपमा अगाडी बढेको भएपनि समय अभावको कारण वार्ता निष्कर्षमा पुग्न नसकेको व्यवसायीहरुले बताएका छन् । वार्ता पुनः बिहीबार वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बस्ने सहमती भएको छ । बार्तामा व्यवसायीका तर्फबाट दूई महासंघका पदाधिकारी र सरकारको तर्फबाट नेपाल वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद विडारी र निर्देशक हरी नारायण वेल्वासे सहभागी हुनुहुन्थ्यो । वार्ता २ घण्टासम्म चलेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणीरत्न शाक्यले बताउनुभयो । वार्तामा सुनचाँदी पसल अनुगमनको बारेमा बढी छलफल भएको उहाँले बताउनुभयो । वार्तामा मापदण्ड विपरीत सरकारले व्यवसायीहरुलाई कारबाही गर्न नहुने ब्यवसायीहरुले अडान लिएको र सरकारले करबाही गर्ने अडान लिएको अध्यक्ष शाक्यले अनलाइनखबरलाई बताउनुभयो । कारबाहीको कुरामा बढी अलमल भएको उहाँको भनाई थियो । अन्य कुरामा सरकारलाई सकरात्मक पाएको उहाँले दाबि गर्नुभयो । वार्तामा व्यवसायीहरुले स्पष्ट निर्देशिकाबीना अनुगमन गरेर व्यवसायीहरुललाई तर्साउने र कारबाहीको दायरामा ल्याउन नहुने अडान राखेका छन् । सरकारले सुनचाँदी कारोबार तथा अनुगमन निर्देशिका तयार भइसकेको बताएपनि अहिलेसम्म आफुहरुले नदेखेको अध्यक्ष शाक्यले बताउनुभयो । वार्तामा सरकारले निर्देशिका तयार भएको र व्यवसायीसँग छलफल गरेर कार्यान्वयनमा ल्याउने बताएको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सिरिया मुद्दालाई हेर्ने विषयमा अमेरिका र रुसबीच ठूलो अन्तर देखिएको छ । उत्तरी आयरल्याण्डमा भएको धनी राष्ट्रहरुको समूह जी एटको सम्मेलनका क्रममा दुई देशका राष्ट्रपति बाराक ओबामा र भ्लादिमीर पुटिनबीच भएको वार्ताका क्रममा यो अन्तर देखिएको हो । यद्यपि, जेनेभामा सिरिया संकटबारे सम्मेलन गर्न भने ओबामा र पुटिन सहमत भएका छन् । सिरियामा भैरहेको हिंसा अन्त्य गर्न पनि दुबै नेता सहमत छन् । दुई घण्टा लामो छलफलपछि पत्रकार सम्मेलनमा उपस्थित दुबै नेताको अनुहारमा निकै तनाव देखिएको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् । ९३ हजार नागरिक मारिँदासम्म पनि समस्याको समाधान खोज्न सत्ता र विपक्ष दुबै पक्ष संवेदनशील नभएको निष्कर्ष दुई नेताको छ । स्वीट्जरल्याण्डमा गरिने भनिएको शिखर वार्ताका लागि पनि सिरियाली सत्ता र विपक्ष दुबै जिम्मेवार नरहेको दुबै नेताको भनाइ छ । इरानका सम्बन्धमा भने हालै भएको राष्ट्रपति निर्वाचनबाट आएको नयाँ नेतृत्वबाट समस्या समाधान गर्न सघाउ पुग्ने विश्वास दुई नेताले व्यक्त गरेका छन् । जी एट बैठकमा नेताहरुले विश्वको आर्थिक अवस्थाबारे छलफल गरेका छन् । बैठकमा धनी राष्ट्र अमेरिका, वेलायत, जापान, चीन, रुस, क्यानडा, फ्रान्स, इटलीका नेता सामेल छन् ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

भारतका उत्तरी पहाडी राज्यहरुमा लगातारको वर्षापछि आएको बाढी पहिरोमा परी कम्तिमा ७० जनाको मृत्यु भएको छ । उत्तराखण्डमा मात्रै ४५ जनाको मृत्यु भएको छ भने हिमाञ्चलमा १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उत्तरप्रदेशमा बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । उत्तराखण्डको गढवाल मंडलको राजमार्गको ६० भन्दा बढी स्थानमा बाढी पसेकाले सो क्षेत्रमा सम्पर्कविच्छेद भएको छ । कुमाउ मण्डलको पिथौरागढ जिल्ला बढी प्रभावित भएको छ । वाढीले सो गाउँको पूरै बस्ती बगाएको छ । पिथौरागढका काली, गोरी र धौली गंगा नदी कटान भई बस्तीमा प्रवेश गरेकोले त्यहाँका सर्वसाधारण अन्यत्र पलायन भएका छन् । चार धाम गएका ३० हजार भन्दा बढी तीर्थयात्री बीच बाटोमै अलपत्र परेका छन् । भारतमा पछिल्लो ४८ घण्टायता नै भारी वर्षा भइरहेको छ । भारत सरकारले बाढी प्रभावितलाई तत्काल अस्थायी बसोबासको ब्यबस्था गरेको जनाएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

दारेचोक ३, कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि अझै फेला पर्न सकेका छैनन् । बेपत्ताको खोजी कार्यका लागि बिहानबाट सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी नदीमा परिचालन गरिएको भए पनि फेला पार्न नसकिएको केन्द्रका डीएसपी दीपेन्द्र गिरीले बताए । सशस्त्र प्रहरी र जनपथ प्रहरीका विभिन्न ४ वटा समूह खोजीमा खटिएका छन् । त्रिशूलीमा पानीको बहाव धेरै भएकाले खोजीमा कठिनाइ भएको खोजी कार्यमा संलग्न प्रहरीले जनाए । खोजी कार्यमा विपत व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी र जिप्रका चितवनका ५ दर्जनभन्दा बढी प्रहरी खटिएका छन् । उनीहरूको खोजीका लागि दिनभर घटनास्थलबाट देवघाटसम्म खोजे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । शनिबार भरतपुरबाट कुरिनटार घुम्न गएका ४ किशोरी र १ किशोर पौडी खेल्ने क्रममा नदीमा बगेर बेपत्ता भएका थिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सिरहाको चिकना गाविस– ३ की एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । खेतमा काम गर्न गएकी बालिकालाई कोही नभएको मौका छोपी स्थानीय ३३ वर्षीय सुरेश यादवले हिजो साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाले बेहोस अवस्थामा घर पुगी घटनाबारे बाबुआमालाई जानकारी गराएपछि पीडित उनीहरुले इलाका प्रहरी कार्यालय कल्याणपुरलाई घटनाबारे जानकारी गराएका थिए । आरोपित सुरेश घटनापछि फरार भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक मनोज न्यौपानेले जानकारी दिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

राजधानीमा भएको अन्र्तधार्मिक सहअस्तित्व, शान्ति र विकास सम्बन्धी दुई दिने अन्र्तराष्ट्रिय सम्मेलन नौं बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै आज सकिएको छ । सम्मेलनले जारी गरेको घोषणा पत्रमा धर्म र शान्ति सम्बन्धी अनुसन्धान र खोजमूलक कार्यलाई अघि वढाउने उल्लेख छ । त्यस्तै, विभिन्न पक्षसँग सहकार्य गर्ने शान्ति र स्थायित्वका लागि भूमिका खेल्ने पनि घोषणा पत्रमा उल्लेख छ । सम्मेलन समापनको अवसरमा गरिएको कार्यक्रममा धर्म शान्ति नेपालकी अध्यक्ष इन्दिरा मानन्धरले धर्मको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैको भूमिका आवश्यक हुनेमा जोड दिइन् । कार्यक्रममा विभिन्न धर्मका गुरु, आध्यामिक क्षेत्रका व्यक्ति लगायतले धार्मिक सद्भावको माध्यमबाट विश्वमा सकारात्मक परिवर्तन गर्न सकिने वताएका थिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नेपाल वायुसेवा निगमलाई नयाँ विमान खरिदका लागि बाटो खुलेको छ । कर्मचारी सञ्चय कोषले १० अर्ब रुपैयाँ ऋण दिने सहमति गरेसँगै निगमलाई न्यारो बडिका ३२०–२०० नामका दुई वटा विमान खरिद गर्न बाटो खुलेको हो । आज कर्मचारी सञ्चय कोषमा कोष र निगमबीच ऋण सहयोग सम्बन्धी सम्झौता भएको हो । कोषले सरकारको जमानतमा निगमलाई वार्षिक १२ प्रतिशत व्याजदरमा व्याज पूँजीकरण सहित १० अर्ब रुपैयाँ ऋण दिने सम्झौता गरेको हो । खरिद हुने विमानको पहिलो व्यापारिक उडान नभएसम्मको ब्याज पूँजीकरण हुने छ । १५ वर्षभित्र साँवा ब्याज तिर्नेगरी दिइएको ऋण निगमले प्रत्येक त्रैमासिकमा भुक्तानी गर्दै जाने सहमति भएको छ । कार्यक्रममा निगमका महाप्रबन्धक मदन खरेलले ऋण सम्झौतासँगै विमान खरिद सुनिश्चित भएको बताए । कोषका प्रशासक कृष्णप्रसाद आचार्यले निगमले संस्थागत सुशासनलाई ध्यान दिनुपर्ने वताउँदै नयाँ विमान प्राप्त गरेपछि निगमको आर्थिक स्थिति पनि बलियो हुने विश्वास व्यक्त गरे । निगमले करिब २५ वर्षपछि पहिलो पटक सरकारको जमानीमा दुई वटा विमान खरिद गर्न लागेको हो । वार्षिक करिब १ खर्बको कारोबार हुने पर्यटन क्षेत्रमा निगमको ४ प्रतिशत पनि हिस्सा छैन् । दुई वटा विमान खरिदपछि निगमको आर्थिक स्थितिमा सुधार आउने र अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा बृद्धि आउने अपेक्षा गरिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी चुनावपछि मुलुकमा राजतन्त्र पुनस्र्थापित हुने र राजाको रुपमा ज्ञानेन्द्र नै फर्किने दाबी गरेका छन् । आज हेटौंडामा संचारकर्मीसँग कुरा गर्दै थापाले अब हुने चुनावपछिको संसदले राजतन्त्र पुनस्र्थापना गर्ने दाबी गरेका हुन् । माओवादीलाई समेत मान्य गरी सम्वैधानिक राजतन्त्र पुनस्र्थापित हुने उनको भनाई थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताएका छन् । आज भैरहवामा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले षड्यन्त्रपूर्वक निर्वाचनको मिति तोकिएको आरोप समेत लगाए । मतदाता नामावली संकलन, नागरिकता वितरण र समानुपातिकतर्फको सदस्य संख्या र निर्वाचन क्षेत्र निर्धारण जस्ता काम नभएकाले मंसिरमा निर्वाचन हुने सम्भावन कमजोर बनेको उनको भनाई थियो । समानुपातिकतर्फ सदस्य संख्या वढाउने सहमति नबनेसम्म निर्वाचनमा भाग लिनुको अर्थ नहुने पनि यादवले बताए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

एमाले उपाध्यक्ष बामदेब गौतमले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नआए पनि चुनाव हुने दाबी गरेका छन् । नेकपा-माओवादीलगायतका असन्तुष्ट दलहरुहरुले अघि सारेको माग पुरै हुन नसक्ने उनले बताए । चुनाव विथोल्ने धम्की दिए पनि मंसिर ४ गते संविधानसभाको निर्वाचन भएरै छाड्ने दृढता गौतमले ब्यक्त गरे । गौतमले पहिला नै सहमति भएर संविधान संसोधन भइसकेकोले अब कुनै पनि हालतमा संविधानसभाको संख्या ६०१ हुन नसक्ने दाबी गर्दै पहिला नै सहमति भइसकेको कुरालाई अहिले आएर उल्ट्याउन खोज्नु अस्थिरतता निम्त्याउने खेलामात्र भएको आरोप लगाए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पहाड र मधेसबीचको राजनीतिक, आर्थिक र सामाजिक अन्तरलाई अन्त्य गर्दै लैजाने सोंच अनुरुप आफूले मधेसबाट चुनाव लड्न लागेको बताएका छन् । विराटनगरमा गरिएको अन्तरसम्वादमा दाहालले मधेसमा आफू लड्ने मात्र नभई पार्टीभित्रका केही मधेसी नेतालाई पहाडमा चुनाव लडाउने पनि बताए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

वन मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का सदस्य-सचिव जुद्धबहादुर गुरुङ र कोषकै प्रशासन प्रमुख दीपककुमार सिंहलाई निलम्बन गरेको छ । सदस्य-सचिव गुरुङ र प्रशासन प्रमुख सिंहले गरेको आर्थिक अनियमितताबारे अनुसन्धान भइरहेको र उनीहरूले प्रमाण लुकाउनसक्ने आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मन्त्रालयलाई पत्र लेखेर तत्काल दुवैलाई निलम्बन गर्न निर्देशन दिएको थियो । कोषको सदस्य- सचिवको जिम्मा वरिष्ठ गंगाजंग थापाले पाएका छन् । गुरुङ २०६५ कात्तिक ४ मा तत्कालिन वनमन्त्री किरण गुरुङबाट सदस्य-सचिवमा नियुक्त भएका थिए भने, सिंह २५ वर्षदेखि त्यहीं कार्यरत थिए । गुरुङ एमालेको 'प्राकृतिक स्रोत साधन विभाग' सदस्यसमेत हुन् भने सिंह विगतदेखि नै राजावादी हुन् । तत्कालीनमन्त्री मुहम्मद वकिल मुसलमानलगायतले गुरुङले कोषमा व्यापक अनियमितता गरेको भन्दै कारवाहीका लागि आयोगमा उजुरी गरेका थिए । त्यही उजुरीका आधारमा आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । गुरुङसँग विवाद लम्बिदै गएपिछ तत्कालिनमन्त्री मुसलमानले उनलाई हटाएर कोषमै रहेका सिद्धार्थबज्र बज्राचार्यलाई सदस्य-सचिव बनाए पनि गुरुङ त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले उनलाई पुनः बहाली गरेपछि आइतबारसम्म सदस्य-सचिव पदमै काम गरिरहेका थिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

राष्ट्रपति डा रामवरण यादवलाई टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । आज बिहान टोकियोको नारिता विमानस्थलमा अवतरण गर्ने बित्तिकै उहाँलाई उक्त अस्पतालमा भर्ना गरिएको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । उक्त अस्पतालका उपनिर्देशक एवम् प्राध्यापक तोसिकाइ वातानावे नेतृत्वको विशेषज्ञ टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गर्नेछ । उक्त टोलीले राष्ट्रपतिसँगको भेटपछि भोलिदेखि औपचारिक परीक्षण गर्ने जनाइएको छ । अनुसन्धान तथा नवप्रवर्तनका निम्ति विश्वप्रसिद्ध उक्त अस्पतालले सन् १९९८ देखि चिकित्सा सेवा उपलब्ध गराउँदै आएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

जिल्ला विकास समिति मुगुले जिल्लास्थित सरकारी कार्यलय तथा गैरसकारी सङ्घ संस्थाले यसआर्थिक वर्षमा सञ्चालनमा ल्याएका योजनाको अनुगमनका लागि जिल्लास्थित राजनीतिक दललाई लैजान ती कार्यालयले अनिवार्य रु ४० हजार जिविसलाई बुझाउनुपर्ने परिपत्र गरेको छ । जिल्लाका २४ गाविस तथा झन्डै दुई दर्जन गैरसरकारी सङ्घ संस्थालगायत विकासे सरकारी कार्यलयलाई जिल्लामा रहेका १२ वटा राजनीतिक दलका नेतालाई योजना अनुगमनमा लैजानका लागि रकम बुझाउन भनी जिल्ला विकास समितिको चलानी नम्बर ११४४ को पत्रमा उल्लेख गरिएको छ । जिविसको गत जेठ ३१ गतेको बोर्ड बैठकले सो निर्णय गरेको हो । जिल्लाका चार भेगमा यही असार ५ गतेबाट अनुगमन गर्न जानका लागि आवश्यक खर्च भनी जिल्ला विकास समितिले पत्राचार गरेपछि ती सङ्घसंस्थाहरुले भने आफूसँग त्यत्रो रकम नभएको भनी पन्छिन खोजेको बुझिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सरकारले महाकाली नदीमा आएको बाढीबाट प्रभावित दार्चुला र कञ्चनपुरमा ५०-५० लाख दिने भएको छ । गृह तथा परराष्ट्रमन्त्रीको अध्यक्षतामा बसेको दैवी प्रकोप उद्धार समितिको मंगलबार बसेको बैठकले दार्चुला र कञ्चनपुरको दैवी प्रकोप उद्धार कोषमा ५०-५० लाख पठाउने निर्णय गरेको हो । बैठकले बाढी तथा पहिरो प्रभावित सबै जिल्लामा खोज, उद्दार तथा राहतलाई प्रभावकारी बनाउने र आवश्यकता अनुसार हेलिकोप्टर लगायत सबै सुरक्षा निकायबाट तप मद्दत पठाउने व्यवस्था मिलाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । बैठकले दार्चुला सदरमुकाममा अत्यावश्यक औषधीसहित राहत सामाग्री पठाउने र राहत तथा उद्धारका लागि क्षेत्रीय प्रशासकको समन्वयमा परिचालन हुने गरी नेपाली सेनाको हेलिकोप्टर तयारीमा अवस्थामा राख्ने निर्णय गरेको हो । बैठकले गण्डकी बाँधको १२ नम्बर स्पर कटान गरेकोले दुई देशको संयुक्त संयन्त्रलाई क्रियाशील बनाई आवश्यक व्यवस्था मिलाउन सिंचाई मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

अविरल वर्षाका कारण सुदूरपश्चिमको धार्मिक, ऐतिहासीक एवं पर्यटकीय स्थल खप्तडमा गंगा दशहराको अवसरमा लाग्ने मेला पनि प्रभावित भएको छ । खप्तडमा प्रत्येक वर्ष गंगा दशहराको दिन भब्य मेला लग्ने गर्दछ । वर्षाले मेला भर्न जाने तीर्थयात्री बटोबाटै फर्कन बाध्य भएका छन् । मेला हेर्न आउने हजारौ स्वदेश तथा विदेशका नागरीक खप्तड जान नपाएर आधा बाटोबाटै फर्किएको डोटी उद्योग बाणिज्य संघका महासचिव नरेन्द्र खडकाले बताउनुभयो । गंगा दशहराको अवसरमा खप्तड त्रिवेणीमा स्नान गरे मोक्ष प्राप्ती हुने, चर्मरोग निको हुने जस्ता विश्वास दर्शनार्थीको रहेको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

तीन दिनदेखि परिरहेको अविरल वर्षासँगै महाकाली नदीमा आएको भीषण बाढीका कारण दार्चुला सदरमुकाम खलङ्गाका हालसम्म ७२ घर बगेका छन्। सर्वसाधारणका ५९ र सरकारी १३ गरी ७२ घर बगेका हुन्। घर बगेपछि दुई हजार पाँच सय व्यक्ति पूर्णरुपमा घरवारविहीन भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताए। अहिले पानी पर्ने क्रममा केही कमी आएको र महाकाली नदीको बहावमा समेत कमी आए पनि नदीले कटान भने तीब्ररुपमा गरिरहेको उनले जानकारी दिए। नदीको कटान नरोकिएकाले अझै क्षति बढ्न सक्ने उहाँले बताउनुभयो। घरवारविहीनताको अवस्थामा पुगेका परिवारलाई विद्यालय र सुरक्षित स्थानमा रहेका घरहरुमा बस्ने व्यवस्था गरिएको उनले बताए। जिल्ला सदरमुकाम खलङ्गा जोड्ने सडकको ठाउँ ठाउँमा पहिरो जाँदा यातायात सेवासमेत पूर्णरुपमा अबरुद्ध भएको छ। उकू र दत्तु गाविस जोड्ने दुई वटा झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ। पानीको सतह पुरै नघटेकाले यहाँका बासिन्दा अझै आतङ्कित अवस्थामा रहेका छन्। भारतले धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध फुट्न लागेको भन्दै बाँध खोलेपछि दार्चुला क्षेत्रमा भीषण बाढी आएको स्थानीयको भनाइ रहेको छ। यसैगरी, डडेल्धुराको सिमल जाला क्षेत्र र परिगाउँ क्षेत्रका दुई दर्जनभन्दा बढी घर महाकाली नदीमा आएको बाढीले डुवानमा परेका छन्।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

तीन दिनदेखिको अविरल वर्षाले कर्णाली नदीमा पानीको सतह बढेर एकसय वर्षकै उच्च भएको छ । आज कर्णालीको पानीको सतह १८ हजार चार सय ६० क्यूमेक्स रहेको छ । जुन सय वर्षमा कुनै पनि दिन १७ हजार क्यूमेक्स नाघ्न नसक्ने भनी गरिएको अनुमानको बढी भएको बबई सिंचाई आयोजनाका आयोजना प्रमुख ईञ्जिनियर महेश्वर नरसिंह केसीले जानकारी दिए । नदीमा पानी बढेपछि बर्दियाका ११ गाविस खतरामा परेका छन् । बर्दियाबाट बग्ने कर्णाली नदीमा आएको भीषण बाढीले करिब एक हजार ५ सय घर डुवानमा परेको छ । जिल्लाको राजापुर टप्पुस्थित दौलतपुर गाविसको सोनाहा, मुर्गवा, नवरंङ्गामा बाढीबाट करिब सात सय बढी परिवार घर छाडेर सुरक्षित स्थानमा गएकाछन् । उनीहरु स्थानीय नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय र आफ्न्तकहाँ आश्रय लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक यमुना रजकले जनाएका छन् । बाढीले दौलतपुर स्थित नदी कटान रोक्न बनाउदै गरेको बाँध पनि बगाएको छ । बाढीले राजापुर गाविसको मुक्त कमैया बस्ती छेदियाका ६ सय बढी घरमा बाढीको पानी पसेको छ । बाढीले राजापुर टप्पुको एघार गाविस मध्ये नौ गाविस डुवानको जोखिममा रहेको छ । खैरीचन्दनपुर गाविसको मजरामा करिब १ सय ५० घरपरिवार उच्च जोखिमा रहेको प्रहरीले जनाएको छ । राजापुर टप्पुको एघार गाविस जोड्ने ३२ केभीको हाईटेन्सन लाईनको पोल बगाउादा विद्युत आपुर्ती ठप्प भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डलका अनुसार टावर ढलेका कारण पानी रोकिएपछि मर्मत कार्य हुने बताए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

उता, दैलेखको मालिका गाविसको वडा नम्बर ७ मा मोहन कुमालको घर भत्किँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोहन कुमाल, उनकी श्रीमती तुलसा, छोरी विस्ना र सन्तोला तथा छोरा नगेन्द्र, गणेश र खगेन्द्र कुमाल रहेको प्रहरीले जनाएको छ । त्यस्तै बैतडीको सिद्धेश्वर गाविस वडा नंबर ९ स्थित खोर्पका रामसिंह ऐरीको घर पहिरोले पुरिँदा उनकी श्रीमती सिताम, छोरी परमेश्वर, एक वर्षीय छोरा अर्जुन र उनकै घरमा बस्दै आएकी कलावती ऐरी तथा उनकी छोरी विन्देश्वरीको मृत्यु भएको छ । त्यसैगरी दार्चुलाको धाप गाविस–५ की सरस्वती रैखेला पनि महाकालीको बाढीले बगाएर मृत्यु भएको छ । त्यस्तै कञ्चनपुरको चाँदनी गाविस वडा नम्बर ६ का नन्दसिंह ठगुन्ना र कौशल्या सुनुवारको पनि वाढी पहिरोमा परी मृत्यु भएको छ । त्यस्तै अछामको कुन्ती वण्डली गाविसकी अनिता बोगटी र उनकी छोरीको पनि वाढी पहिरोमा परी मृत्यु भएको छ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । वर्षासँगै आएको बाढी पहिरोमा परी २० जनाको ज्यान गएको छ भने ११ जना वेपत्ता भएका छन् । वाढीपहिरोमा परी दैलेखमा सात, बैतडीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई, कालीकोटमा दुई र दार्चुलामा एक गरी २० जनाको मृत्यु भएको हो । कालीकोटमा भने पहिरोले बगाउँदा ११ जना वेपत्ता भएका छन् । वाढी पहिरोबाट सयौं जना विस्थापित भएका छन् । कालिकोटको शिपखानास्थित चोक्टेबजार र मेहलमुडीस्थित डंखिलिमा गएको पहिरोमा परी एकै परिवारका चारसहित १३ जना वेपत्ता भएकोमा दुई जनाको शव भेटिएको छ । कालीकोटमा वेपत्ता हुनेहरुमा शिपखानाकी कला थापा, चनतोला शाही, भूपे शाही, कमरा शाही, हिमचुली शाही, सत्य शाही, उनकी श्रीमती सरीता शाही र पाँंच वर्षका छोरा र तीन वर्षीया छोरी रहेका छन् । त्यस्तै, कालीकोटकै मेहलमुडीको डंखिली बजारमा पहिरो जाँंदा मनबहादुर शाही, कृष्ण न्यौपाने र टक्क बम पनि वेपत्ता भएका छन् । दुई जनाको शव फेला परेपनि सनाखत हुन सकेको छैन् ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

ब्राजिलमा जारी नवौं कन्फेडेरेसन कप फुटबल प्रतियोगिता अन्तर्गत गएरातिको खेलमा दुई युरोपियन टोली स्पेन र इटाली विजयी भएका छन् । विश्वकप विजेता स्पेनले कोपा अमेरिका विजेता उरुग्वेलाई २–१ ले हराएको हो । स्पेनलाई जिताउन रोबर्टो सोल्डाडो र पेड्रो रोड्रिग्वेजले १–१ गोल गरे । उरुग्वेका लागि लुईस स्वारेजले एक गोल फर्काए । त्यसैगरी, इटालीले मेक्सिकोमाथि २–१ को जीत दर्ता ग-यो । इटालीका लागि मारियो बालाटेली र आन्द्रेस पिर्लोले एक–एक गोल गरे भने मेक्सिकोका लागि हाभियर हर्नान्डेजले एक गोल फर्काए । प्रतियोगितामा आज टाहिटीले नाईजेरियाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

घरेलु टोली इङ्गल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कार्डिफमा भएको खेलमा न्युजिल्याण्डलाई १० रनले हराउँदै इङ्गल्याण्ड अन्तिम चारमा प्रवेश गरेको हो । बर्षाका कारण २४ ओभरमा घटाईएको खेलमा पहिले ब्याटिङ्ग गरेको इङ्गल्याण्डले २३ ओभर ३ बलमा सबै विकेटको नोक्सानीमा १ सय ६९ रन बनायो । इङ्गलिस इनिङ्गमा कप्तान एलेष्टर कुकले ६४ रन बनाए भने न्युजिल्याण्डका कायल मिल्सले ४ तथा मिचेल म्याक–क्लिनागनले ३ विकेट हात पारे । जवाफमा १ सय ७० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २४ ओभरमा ८ विकेटको क्षतीमा १ सय ५९ रन बनाएपछि इङ्गल्याण्ड भाग्मानी बन्यो । किवी टोली न्युजिल्याण्डका केन विलिएम्सनले ६७ रन जोडे भने विजेता इङ्गल्याण्डका जेम्स एण्डरसनले ३ विकेट लिए । प्रतियोगिता अन्तर्गत आज अष्टे«लिया र श्रीलंका आमने सामने छन् । यो खेलले समूह एबाट सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोलीको टुङगो लगाउने छ । समूह बीबाट भने भारत र दक्षिण अफ्रिका अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

इराकको मध्य र दक्षिण क्षेत्रमा गराइएका श्रृंखलावद्ध वम विष्फोटमा ३० जना मारिएका छन् । विष्फोट कुट, महमूदिया, नसीरिया तथा बसरा शहरमा गराइएको हो । विष्फोट शिया मुस्लिमको वस्तीमा गराइएको बताइएको छ । शिया र सुन्नी समुदायबीच पछिल्ला समयमा यस्ता आक्रमणको घटना भैरहेको छ । जून २००८ पछि इराकमा गएको महिना सबैभन्दा बढी हिंसा भएको र एक हजारभन्दा बढी नागरिक मारिएको बताइएको छ । कुट शहरमा दुई कार विष्फोट गारइएको थियो । बसरा शहरमा पनि दुई वटा कार विष्फोट गराइएको थियो । घटनाको जिम्मेवारी कसैले नलिएपनि शिया र सुन्नीबीचको तनाब नै कारक मानिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

भारतको उत्तराखण्ड राज्यमा भीषण वर्षापछि आएको बाढीले जनजीवन पूरै अस्तव्यस्त भएको छ । देहरादुनमा पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । पहिरोमा अरु धेरै फसेको आशंका गरिएकाले मृतकको संख्या अझै बढ्न सक्ने छ । बाढी पहिरोका कारण गढवालका चार धाम, गंगोत्री, यमुनोत्री, बद्रीनाथ र केदारनाथ यात्राका मार्ग बन्द हुँदा दुई हजारभन्दा बढी तीर्थयात्री फसेको समाचारमा जनाइएको छ । उनीहरुको उद्धारको प्रयास भैरहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । केही यात्रुको मृत्यु भएको आशंका गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शहरमा सडकहरु पूरै जलमग्न भएका छन भने सञ्चार सेवा अवरुद्ध भएको बताइएको छ । राज्य सरकारले राहत र उद्धार भैरहेको जनाएको छ । देहेरादुनमा सन् १९२५ को रेकर्ड तोड्दै पछिल्लो २४ घण्टामा २ सय २० मिलिमिटर वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ । त्यस क्षेत्रमा आगामी ३६ घण्टा अझै भीषण वर्षा हुने बताइएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६९ सालमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०६८)को ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ। त्यसैगरी २०६९ सालमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

विश्व सम्पदा सुचीमा सुचिकृत हनुमानढोका क्षेत्रको व्यवस्थापन निजी क्षेत्रलाई दिन लागेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । उनीहरुले निजी क्षेत्रले हनुमानढोका क्षेत्रका संरक्षण र विकास गर्न नसक्ने भन्दै केही व्यक्तिहरुको स्वार्थमा नीजि क्षेत्रलाई व्यवस्थापनको जिम्मा दिन लागिएको आरोप समेत लगाएका छन् । स्थानीयवासीले वसन्तपुर परिसर संग्रहालय र भीमसेनस्तम्भ अवलोकनमा महानगरपालिकाले एकद्धार टिकट प्रणाली कायम गरेकोमा पनि विरोध जनाएका छन् । महानगरपालिकाले साईडवर्कश प्रालिलाई हनुमानढोका क्षेत्र व्यवस्थापनको जिम्मा दिने तयारी गरेपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

चितवनको दारेचोक–३ कुरिनटारस्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा शनिबारदेखि बेपत्ता भएका पाँच जनाको अवस्था अझै अज्ञात छ । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र आफन्तहरुले बेपत्ता भएकाहरुको खोजी गरिरहेका छन् । कुरिनटारस्थित रिभरसाइड रिसोर्ट नजिकैबाट बेपत्ता भएका उनीहरुको खोजीको लागि प्रहरीले चार वटा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । प्रहरी निरीक्षक बसन्त धितालको कमाण्डमा मोटरबोट, प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा -याफ्टीङबोटसहितको कायाक, प्रहरी नायव निरीक्षकको कमाण्डमा २५ जनाको माइनस प्लाटुनलाई पैदल गस्ती र प्रहरी सहायक निरीक्षकको कमाण्डमा नदीले बगाएर ल्याएको वस्तु रेखदेख गर्न देवघाटमा १३ जनाको एक सेक्सन तैनाथ गरिएको छ । बर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदा खोजीमा कठिनाई भएको प्रहरीले जनाएको छ । विदाको दिन पारेर घुम्न निस्किएका एकै परिवारका तीनसहित पाँच जनालाई शनिवार नदीले बगाएको हो । नदीमा बग्नेमा भरतपुर–५ का तीन दिदीबहिनी मोनिका रेग्मी, लिजा रेग्मी र रजनी रेग्मी तथा अस्मिता थापा र जनक राउत छन् ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

बेलायतले म���सिरमा हुने संविधानसभा निर्वाचनका लागि थप ६० लाख पाउण्ड (८६ करोड ४० लाख रुपैयाँ) सहयोगको घोषणा गरेको छ । विश्वसनीय, लोकतान्त्रिक र समावेशी निर्वाचनका लागि सहयोग गर्न बेलायतले यसअघि नै नेपाल शान्ति कोषमार्फत ३५ लाख र यूएनडीपीमार्फत ५० लाख पाउण्ड सहयोग दिइसकेको छ । बेलायती राजदूत एण्डी स्र्पाकले सोमबार नेपाललाई डीएफआईडीमार्फत शान्तिकोषमा ४० लाख र महिला सहभागिता, निर्वाचन अनुगमन र पत्रकारहरुको तालिमका लागि २० लाख गरी ६० लाख पाउण्ड सहयोगको घोषणा गर्नुभएको हो । योसँगै निर्वाचनका लागि बेलायतको सहयोग १ करोड ४५ लाख अर्थात २ अर्ब अमेरिकी डलर पुग्ने काठमाडौंस्थित बेलायती दूताबासले जनाएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

निर्वाचन आयोगले आगामी संविधानसभा चुनावमा एक सय १९ निर्वाचन क्षेत्रमा विद्युतीय मेसिनबाट भोट दिने व्यवस्था गर्ने भएको छ । आयोगका प्रवक्ता वीरबहादुर राईले यस्तो जानकारी दिनुभएको हो । त्यसका लागि भारतसँग कुरा भइसकेको र दर्ताका लागि निवेदन दिएका दलहरुको अन्तिम टुङ्गो लागेपछि मेशिनको प्रबन्ध गर्ने राईले जानकारी दिनुभयो । चुनावलागि विद्युतीय मेसिन भारतबाट ल्याईने छ । यसअघिको संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा र उप निर्वाचन भएका ६ वटा क्षेत्रमा विद्युतीय मेसिनको प्रयोग गरेको थियो । दर्ताका लागि निवेदन दिएका दलको टुंगो साउन १५ गतेसम्ममा लाग्ने चुनावी प्रयोजनका लागि आयोगमा निवेदन दिएका एक सय ३९ दलको अहिले प्रमाणिकरणको काम भइरहेको प्रवक्ता राईले बताउनुभयो । दर्ता भएका दलको साउन १५ गतेसम्म अन्तिम टुङ्गो लाग्ने आयोगले जनाएको छ । एक सय ३९ मध्ये एक सय ७ वटा दलले दश हजार हस्ताक्षरसहित निवेदन दिएकाले त्यसको पुष्टि गर्न समय लाग्ने आयोगको भनाई छ । भदौदेखि मतदाता शिक्षाको काम अघि बढाउने र वुधवारदेखि कार्यतालिकाको काम शुरु गर्ने उहाँले जानकारी दिनुभयो । समय र संवेदनशीलताका हिसावले मतपत्र छपाई भने चुनौतीपूर्ण रहेको आयोगले बताएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

माओवादी द्वन्द्वका समयमा राज्यबाट बेपत्ता पारिएका नागरिकहरुका आफन्तले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । राज्यद्वारा बेपत्ता परिवार समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बेपत्ता नागरिकका परिवारहरुले बेपत्ता पार्ने कार्यमा संलग्नलाई कारवाही गर्न समेत माग गरे । उनीहरुले बेपत्ता नागरिकका परिवारका सदस्यका लागि शिक्षा, स्वास्थ्य र उपचारमा छुट गर्नुपर्ने तथा रोजगारी दिनुपर्ने लगायतका माग पनि राखेका थिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा आगामी मंसिर चार गते नै चुनाव हुने दाबी गरेका छन् । आज विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै दाहालले मंसिर चार गतेका लागि तय भएको चुनावलाई कसैले रोक्��� नसक्ने दाबी गरे । आन्दोलनरत दलहरुका मागलाई सम्बोधन गर्न चार दलले सरकारलाई सुझाव दिइसकेको भन्दै उनको नेकपा–माओवादीसहितका दलहरु पनि चुनावमा आउने विश्वास ब्यक्त गरे ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

मंसीर चार गते सरकारले घोषणा गरेको निर्वाचनविरुद्ध रहेका सबै दललाई वार्तामा आएर छलफलबाट समस्याको समाधान खोज्न मूख्य चार दलले फेरि आह्वान गरेका छन् । चार दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको आज बसेको बैठकले मंसीर चार गतेको निर्वाचन सफल बनाउन आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय पनि गरेको छ । नेकपा–माओवादीसहितका दललाई बन्द, हडताल जस्ता नकारात्मक बाटो छाडेर चुनावमा संलग्न हुन पनि उक्त समितिको सल्लाह छ । समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकले राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्यस्थितिप्रति चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

शान्ति तथा पुननिर्माण मन्त्रालयले अधिकांश भूमिगत समूहसँग वार्ता गरी सहमति गरेको दावी गरेको छ । अहिलेसम्म ५२ वटा भूमिगत समूहलाई मूलधारमा ल्याएको भन्दै बाँकी समूहसँग पनि वार्ताको प्रक्रिया चलिरहेको शान्ति मन्त्रालयले जनाएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी शान्ति मन्त्रालयका सचिव धरणीधर खतिवडाले कतिपय भूमिगत समूहहरुले सरकारलाई हतियार बुझाएको जानकारी पनि दिए । सचिव खतिवडाले द्धन्द्धकालमा ध्वस्त भएका भौतिक संरचना पुननिर्माणका लागि ६ अर्ब रुपैयाँ खर्च भएको जानकारी पनि दिए । सोही पत्रकार सम्मेलनमा शान्तिमन्त्री रामकुमार श्रेष्ठले कुनै दलले विरोध गर्दैमा चुनाव नरोकिने बताए । मन्त्री श्रेष्ठले वर्तमान सरकारको एक मात्र दायित्व निर्वाचन भएको उल्लेख गर्दै मंसिर चार गते नै चुनाव सम्पन्न हुने दाबी पनि गरे । मन्त्री श्रेष्ठले सरकार सबै समस्याको वार्ताबाट समाधान खोज्न प्रतिवद्ध रहेको भन्दै गोलमेच सम्मेलन गर्नुपर्ने नेकपा–माओवादीको मागलाई अनावश्यक भनी टिप्पणी पनि गरे ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

राष्ट्रपति डा. रामवरण यादव आफ्नो स्वास्थ्य उपचारका लागि आज दिउँसो जापान प्रस्थान गरेका छन् । राष्ट्रपति यादव थाई एअरलायन्सबाट बैंकक हुँदै जापान पुग्नेछन् । राष्ट्रपति यादवको आन्द्रामा दाग देखिएपछि चिकित्सकहरुले उपचारका लागि जापान जान सल्लाह दिएका थिए । सरकारले हिजो राष्ट्रपति यादवलाई उपचारका लागि जापान पठाउने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयअन्तर्गतको मेडिकल बोर्डको सिफारिस अनुसार उनको जापानको सुविधा सम्पन्न अस्पतालमा उपचार गरिनेछ । दुई महिनादेखि पखाला लाग्ने समस्याबाट पीडित राष्ट्रपति यादवको शनिबार स्वास्थ्य परीक्षण गर्दा ठूलो आन्द्रामा दाग रहेको पत्ता लागेको थियो । राष्ट्रपति यादवको साथमा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल निरञ्जनमानसिंह वस्नेत, कानूनी सल्लाहकार डा. सूर्य ढुंगेल, छोरा डा. चन्द्रमोहन यादव, छोरी अनिता, निजी चिकित्सक यादव भट्ट र नेपाली सेनाका तीन जना अधिकृत गरी दश जनाको टोली पनि जापान गएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

पर्सामा आज बिहान छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पर्साको वैरियाविर्ता गाउँ विकास समिति वडा नम्बर ७, ८ र झौवागुठी गाविस वडा नम्बर १ मा चट्याङ परेको हो । वैरियाविर्तामा विहान खेतमा गएका तीन जनाको र झौवागुठीमा एक जनाको मृत्यु भएको हो । वैरियाविर्तामा बर्षा भएपछि खलियानमा रहेको झुपडीमा ओत लागेकाहरुको झुपडीमाथि चट्याङ पर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा बैरियाबिर्ता गाविस वडा नम्बर–७ का मनिफ मियाँ तेली, शम्भु राउत कुर्मी, वडा नम्बर ८ का गया मुखिया र झौवागुठी गाविस वडा नम्बर १ का रामबाबु साह छन् । घटनामा झयाउँवा गुठी वडा नम्बर १ का दुर्गाप्रसाद साह गम्भीर घाइते भएका छन् । उनको बीरगञ्जस्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । लगातार तीन पटक ठूलो आवाज गर्दै चट्याङ् परेको प्रहरीले जनाएको छ । घट्नापछि पूरै गाउँ शोकमा डुबेको छ । उता चट्याङ्गले लागेर सोमबार सिरहाको सुखचैनामा आमा र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी सिरहाका प्रहरी नायव उपरीक्षक रमेश तामाङका अनुसार सुखचैना-७ का काशिन्द्र यादवकी ३५ वर्षीया पत्नी गीतादेवी यादव र उनकी १५ वर्षीया छोरी रिङ्कुको १ बजे चट्याङ्गमा परी मृत्यु भएको हो । उनीहरु दुवै घरनजिकको बगैंचामा आप टिप्न गएका थिए । आप बगैंचामै दुवै जनामाथि चट्याङ्ग परेको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

उता, हुम्लाको मेचु गाउँ विकास समितिको नौमुलेमा हिउँ पहिरोमा परि वेपत्ता भए���ा चार जनाको अझै पत्तो लाग्न सकेको छैन । सदरमुकामबाट ३३ कोष टाढाको उक्त स्थानबाट चीनको तिब्बततर्फ जाँदै गर्दा सिमकोट ८ बुराउँसेकी केम्मा लामा र उनका तीन सन्तान हिमपहिरोमा वेपत्ता भएका हुन् । पहिरोबाट हिल्सा प्रहरी चौकीसमेत विस्थापित हुनुका साथै स्थानीयका ८ घर पुरिएको प्रमूख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिनुभएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

कञ्चनपुरस्थित महाकाली नदीको भंगालोमा झण्डै १७ घण्टादेखि फसेका २३ जना मजदुरको सकुशल उद्धार गरिएको छ । ५ वटा ट्रक भने भंगालोकै चेपमा फसिरहेको छ । ट्रकसहित नदीमा ढुंगा गिट्टी निकाल्न गएका मजदूर हिजो साँझदेखि फसेका थिए । महाकाली नदीमा पानीको वहाव बढेपछि भीमदत्त नगरपालिका–१३ पिपरैयामा नदीको बीच भागमा रहेको टापुमा उनीहरु थुनिएका थिए । ढुङगा गिट्टी निकाल्नमै व्यस्त उनीहरुले घर फर्कने क्रममा मात्र पानीको वहाव बढेको थाहा पाएका थिए । लगातारको बर्षाले उद्धारमा कठिनाई भएको थियो । महाकाली नदीमा पानीको वहाव हालसम्म कै उच्च पुगेकोछ । सुदरपश्चिमका पहाडी जिल्ला दार्चुला र बैतडीमा तिनदिन देखिको अविरल बर्षाका कारण यसपटक बर्षायाम सुरु हुनु अगावै पहिलो पटक महाकालीमा भिषण बाढी आएकोछ । महाकाली नदीमा आएको बाढीबाट कञ्चनपुरको भिमदत्त नगरपालिका ११ देखि १४ सम्म नदी किनारका बस्तीमा नदीको भंगालो पस्ने खतरा उत्पन्न भएको छ । भुजेलाको चौकीसोतामा बाढी पसेर केहि घर डुवानमा परेका छन् । आइतबार साँझदेखि महाकालीको बहाव बढदै गएको हो । यसपटक महाकालीको बाढी भारतीयय भूभाग हुँदै भुजेलाको चौकिसोता तिर पसेको छ । सोमबार बिहान २ लाख क्युसेक भन्दा कम बहाव मापन गरिएको महाकालीको जलस्तर दिउँसोसम्म ४ लाख ४० हजार ७ सय १६ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपि बृख बहादुर रावलले बताए । यो विगतका बर्षहरुको तुलनामा हालसम्म कै उच्च वहाव मापन गरिएको हो । गतबर्ष भदौ तिर ठूलो बाढी आएका बखत महाकालीको जलस्तर ३ लाख ९८ हजार क्युसेक पुगेको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

महाकालीमा आएको बाढीले कटान बढेपछि दार्चुला सदरमुकाम खलंगा अस्तब्यस्त भएको छ । एक महिला बेपत्ता भएकी छन् । अहिलेसम्म जिल्लामा ५३ घर बगाइसकेको छ । धाप ५ की सरस्वती रैखोला बेपत्ता भएकी छिन् । नदीमा दाउरा खोज्न गएका बेला बाढीले बगाएको हो । शैक्षिक तालिम केन्द्र, जिल्ला बन कार्यालय, स्वास्थ्य कार्यालयको शव गृह, गल्फैका ६ घर र एक क्लिनिक पनि बगाएको छ । छापरीमा तातोपानी मन्दिर र ४ वटा पसल बगाएको छ । ब्रहृमदेव कालागाड खोलाको लघु जलबिद्युत योजनाको पावर हाउस बगाएको छ । जिल्ला अस्पताल छेउसम्म नदी पुगेकाले बिरामीलाई अन्यत्र सारेको दार्चुलाका प्रहरी नायब उपरीक्षक कुबेर कडायतले बताए । भूसंरक्षण कार्यालय, जिविस, खुलामञ्च लगायतका क्षेत्र उच्च जोखिममा छन् । आईतबार राती खलंगा ५ बागाबगड, रिगनेताल क्षेत्रका ३० घरटहरा बगाएको थियो । सदरमुकामका बासिन्दा घरछाडेर डाडा तिर उक्लिएका छन् । प्रहरी, सेना र स्थानीय उद्घारमा खटिएपनि लगातारको वर्षाले समस्या भएको प्रहरीले जनाएको छ । सीमा पारीको भारतीय बजार धार्चुलामा २० घर बढी बगाएको छ । यस्तै, महाकालीमा बहाव बढेपछि बैतडी प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहनन सूचना गरेको छ । बैतडीका सेरा, जुलाघाट लगायतका क्षेत्र जोखिममा छन् । एमालेले बाढीका दार्चुलाको विपतमा परेकाहरुका सिघ्र उद्घार र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

Like
  • 0 users like this.
Get our toolbar!
Review radiobeta.com on alexa.com

New widget!

Give your site visitors the best radio experience.
Easy and Free: Get Code!


Radios Argentina - Radios México - Francia Radios - Cameroon Radios - China Radios - Radios España - United States Radios - Radios Colombia - Radios Brazil - Germany Radios
2013 © RadioBeta - All rights reserved