New Official Page of Radio Show " Goli Sisako " Please Like the Page and keep Posting Messages ..Thank YouGoli SisakoThis is New Official Page of Dohori Show " Goli Sisako "

New Official Page of Radio Show " Goli Sisako " Please Like the Page and keep Posting Messages ..Thank YouGoli SisakoThis is New Official Page of Dohori Show " Goli Sisako "
5 hours ago
Like

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आज अन्तिम चारको समीकरण पूरा हुँदैछ । आज राति हुने सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीचको खेलबाटै प्लेअफमा पुग्ने अन्तिम टिमको टुङ्गो लाग्नेछ । सो खेलमा हैदरावाद विजयी भए अन्तिम चारमा पुग्नेछ भने पराजित भएमा रोयल च्यालेन्जर्स बैंगलोरले अवसर पाउने छ । गएरातिको खेलमा शीर्ष स्थानको चेन्नई सुपर किंग्सलाई २४ रनले हराउँदै बैंगलोरले प्ले अफमा पुग्ने सम्भावनालाई जीवितै राखेको हो । बैंगलोर १६ खेलबाट १८ अंकसहित चौथो स्थानमा छ भने एक खेल कम खेलेको हैदरावाद १८ अंकबाट रन रेटका आधारमा पाँचौं स्थानमा छ । यसैबीच, चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स र राजस्थान रोयल्स क्रमशः पहिलो, दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगिसकेका छन् । आजको पहिलो खेलमा लिगको पुछारमा रहेका पुणे वारियर्स र दिल्ली डेयरडेभिल्सले जारी सिजनमा अन्तिम खेलका निमित्त भिडिरहेका छन् ।
21 hours ago
Like

सिरियाका राष्ट्रपति बसर अल असदले सिरियाको भविष्य सिरियाली जनताको हातमा रहेको भन्दै सिरियाको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । अर्जेन्टिनी पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा असदले सिरिया अहिले तेज हावाका कारण डुब्न लागेको पानी जहाजको रुपमा रहेको र हावा चल्यो भन्दैमा जहाज चालकले जहाज छाडेर नजाने उदाहरण पेश गरे । अमेरिका र रुसले सिरियामा जारी हिंसामा रासायनिक हतियार प्रयोग भएको भन्दै आलोचना गरेपछि यी दुई राष्ट्रलाई लक्षित गरी आ–आफनो राष्ट्रको मात्र भलाई सोच्न उनले सुझाए । यसअघि अमेरिकाले सिरियामा ब्यापक मात्रामा रासायनिक हतियारको प्रयोग भइरहेको प्रमाण पेश गर्ने जनाएको थियो । यद्यपि, सिरियाले भने अमेरिकालाई यसको पुष्टी गर्न चुनौती दिएको छ । सिरियामा जारी हिंसामा हालसम्म ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ८२ लाख जनता छिमेकी मुलुकमा शरण लिन पुगेका छन् ।
21 hours ago
Like

चीनका प्रधानमन्त्री ली खछियाङ प्रधानमन्त्रीको कार्यभार सम्हालेपछिको पहिलो विदेश भ्रमणका क्रममा भारत आईपुगेका छन् । भ्रमणका क्रममा उनेले भारतीय समकक्षी मनमोहन सिंह लगायतका नेताहरुसँग वार्ता गर्ने बीबीसीले जनाएको छ । वार्तामा सीमा विवाद र व्यापारिक साझेदारीको विषय प्रमुख रुपमा उठ्ने अनुमान गरिएको छ । दशकौं लामो सीमा विवादकाबीच पनि दुई मुलुकले सन् २०१५ सम्म द्विपक्षीय व्यापारलाई १ खर्ब डलर पु-याउने सहमति गरिसकेका छन् । विश्वमा सवैभन्दा ठूलो जनसंख्या रहेका यी दुई छिमेकी मध्ये चीन विश्वको दोस्रो अर्थतन्त्रको रुपमा स्थापित भएको छ भने भारत पनि उदीयमान अर्थतन्त्रको रुपमा अगाडि बढिरहेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले प्रधानमन्त्री लीको भारत भ्रमणले आपसी विश्वास र नयाँ साझेदारी अभिवृद्धि गर्ने दिशामा दुवै मुलुकलाई फाइदा पुग्ने विश्लेषण गरेको छ । नयाँदिल्लीले पनि चिनियाँ प्रधानमन्त्री ली ले कार्यभार सम्हालेपछिको पहिलो विदेश भ्रमण गन्तब्य भारतलाई बनाएकाले आपसी विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ । भारत र चीन दुवैले सन् १९५० देखि लद्दाख क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् ।
21 hours ago
Like

पाकिस्तानमा एक वरिष्ठ महिला राजनीतिज्ञ मारिएकी छिन् । पूर्व क्रिकेटर इमरान खानको तहरीक ए इन्साफ पार्टीकी वरिष्ठ उपाध्यक्ष जाहरा शाहिद हुसैनलाई कराँची शहरमा गोली हानी हत्या गरिएको हो । उनलाई आफ्नै घर बाहिर हत्या गरिएको हो । हत्याको कारण अहिलेसम्म प्रष्ट भएको छैन । आज उक्त क्षेत्रको केही स्थानमा पुनर्निर्वाचन हुँदै थियो । हत्या गएराति ११ बजेतिर भएको जनाइएको छ । मोटरसाइकलमा आएको बन्दूकधारीले जहाराको टाउकोमा गोली हानेको थियो । केहीले डकैतीका लागि आएकाले हत्या गरेको बताएका छन् भने केहीले हत्यालाई सुनियोजित बताएका छन् । राष्ट्रपति आसिफ अली जर्दारीले घटनाको निन्दा गरेका छन् । इमरान खानले भने घटनाका लागि एमक्यूएम पार्टीका प्रमुख अल्ताफ हुसैन जिम्मेवार रहेको आरोप लगाएका छन् । एमक्यूएमले भने आरोपलाई निराधार भन्दै खण्डन गरेको छ । कराँची क्षेत्रमा एमक्यूएम पार्टीले धाँधली गरेर अत्यधिक सीट जितेको आरोप इमरान खानले लगाएपछि केही स्थानमा फेरि चुनाव हुन लागेका समयमा यो हत्या भएको खबरहरुमा उल्लेख छ ।
21 hours ago
Like

तनहुको ढोरफिर्दी माले बगरमा भएको बस दुर्घटना परि दुई जनाको ज्यान गएको छ । आइतबार विहान साढे ९ वजे जरेबरबाट दुलेगौडाका लागि छुटेको ध १ ख ३३९ नम्बरको बस अनियन्त्रीत भई सडकबाट करीब ३० मिटर तल खस्दा भएको दुर्घटनामा २७ जना घाईते भएका छन् । दुर्घटनामा तनहु भानुमतिकी २ वर्षीया बालिका सोनिका थापाको उपचारको क्रममा स्थानिय सेतिगंगा सामुदायिक अस्पतालमा ज्यान गएको हो भने तनहूँ राईपुर बस्ने ३२ वर्षीया मिना महतोको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको थियो । घाईतेमध्ये ७ जनाको मणिपाल अस्पताल पोखरामै भैरहेको छ भने अन्य घाईतेको स्थानिय सेति गंगा सामुदायिक अस्पतालमै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।
21 hours ago
Like

सञ्चारमन्त्री माधवप्रसाद पौडेलले सरकार स्वतन्त्र प्रेसको पक्षमा भएको स्पष्ट पार्दै प्रेसमाथिको आक्रमण सह्य नहुने बताउनु भएको छ । नेकपा-माओवादी निकट सञ्चार तथा छापाखाना मजदुरले राजधानी राष्ट्रिय दैनिकको वितरणमा अवरोध पुर्याएको विषयमा ध्यान आर्कषित गराउन गएका पत्रकारहरुसँग कुरा गर्दै पौडेलले सञ्चारमाध्यममाथिको अवरोध प्रेस स्वतन्त्रता मात्रै नभई नागरिकको अधिकारलाई समेत कुण्ठित पार्ने काम भएको बताउनु भयो । सञ्चारमन्त्री पौडेलले पत्रकार र सञ्चारमाध्यमको सुरक्षाको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
21 hours ago
Like

काठमाडौंबाट प्रकाशित हुने राजधानी राष्ट्रिय दैनिक नेकपा–माओवादी निकट मजदूरहरुले कब्जामा लिएका छन् । रातभर छापेर विहान बजारमा पठाउन ठिक्क पारिएको राजधानी दैनिकको आजको सवै पत्रिका माओवादी मजदुरहरुले प्रेसबाटै नियन्त्रणमा लिएका हुन् । –माओवादी निकट अखिल नेपाल क्रान्तिकारी संचार छापाखाना तथा प्रकाशन मजदूर संघमा आवद्ध १०–१२ जनाले चाबहिलस्थित प्रेसबाट पत्रिका कब्जामा लिएका थिए । बा ८ च ३१७ र बा ६ च ८४७७ नम्बरको भ्यानमा राखेर पत्रिका लगेको पत्रकार महासंघ राजधानी शाखाका अध्यक्ष डिल्ली आचार्यले जानकारी दिए । प्रेसबाटै पत्रिका कब्जामा लिएका आन्दोलनकारीहरुले दिउँसो कार्यालय अगाडि धर्ना दिएका थिए । नेपालगञ्ज सरुवा गरिएका एक कर्मचारीको सरुवा फिर्ता, कर्मचारीलाई स्थायी नियुक्ति, समयमै तलब भुक्तानी लगायतका पाँच सूत्रीय माग राखेर उनीहरुले दुई महिना अघि आन्दोलन थालेको तर व्यवस्थापनले वास्ता नगरेपछि कडा आन्दोलनमा उत्रिनु परेको मजदुर संघका अध्यक्ष शिवप्रसाद गौतमले बताए । उनीहरुले यसअघि राजधानी दैनिकका प्रशासन प्रमुखमाथि कुटपिट समेत गरेका थिए ।
21 hours ago
Like

गृहमन्त्री माधव घिमिरेले सुकुम्बासी बस्तीहरुमा सरकारी सेवा सुविधा नदिन दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै नेपाल सुकुम्बासी संघ चितवनले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई सेवा सुविधाबाट बञ्चित गर्न नपाईने भन्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् । गृहमन्त्री घिमिरेले केही दिनअघि कार्यालय प्रमुखहरुलाई निर्देशन दिने क्रममा सार्वजनिक जमिन, नदी किनार र बन फडानी गरी बसेका सुकुम्बासीलाई प्रोत्साहन गर्नेगरी सरकारी सेवा सुविधा नदिन निर्देशन दिएका थिए ।
21 hours ago
Like

पार्टी नेतृत्वले कुनै परामर्श र सहमती नै नगरि विद्यार्थी बिभागको सदस्य बनाएको भन्दै नेबिसंघका पूर्व महामन्त्री जितजंग बस्नेतसहित २ जनाले सदस्य पद अस्विकार गरेका छन । स्वबियु चुनाब नजिकिदै जाँदा संगठनमा देखिएको बिवाद समाधानका लागि भन्दै काँग्रेसले पार्टी केन्द्रिय सदस्य नबिन्द्रराज जोशीको संयोजकत्वमा विभाग गठन गरेको थियो । नेता बस्नेतले पार्टी संस्थापन पक्षले आफूहरुको राजनीतिक भविश्य समाप्त गर्ने गरि नियतबश ढंगले विद्यार्थी विभागमा नियुक्त गरेको आरोप लगाउँदै आफूहरु विभागमा नजाने बताउनुभयो । आफू अध्यक्षको दाबेदार तथा अन्जान लामा हाल नेबिसंघको केन्द्रिय सदस्य रहेको अवस्थामा बिधि, बिधान बिपरित र सल्लाह नै नगरि गरिएको नियुक्ति मान्य नहुने बस्नेतले बताउनुभयो । पार्टी नेतृत्वले समान्ती शैलीमा गरेको नियुक्ति कुनै हालतमा स्विकार्य नहुने बस्नेतले बताउनुभयो । आफूहरुले यसबारे पार्टी नेतृत्वको ध्यानकर्षण गराइसकेको भन्दै उहाले जिम्मेवार बन्न नेतृत्वलाई आग्रह पनि गर्नुभयो । नेबिसंघ नेता राजिब ढुंगानाले पनि आफूसंग कुनै परामर्श नगरि आफुलाई वैदेशिक विभागमा राखिएको भन्दै राजधानी फर्किएपछि नेतृत्वलाई असतुष्टि राख्ने बताउनुभयो ।
21 hours ago
Like

आसन्न स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीले देशभरका एक सय पाँच क्याम्पसमा सभापतिका उम्मेदवार घोषणा गरेको छ । क्रान्तिकारीले स्ववियु चुनावमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा उपाध्यक्ष डा. बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराइलाई उठाउने भएको छ । मानुषी यसअघि स्ववियु सचिव हुनुहुन्थ्यो । यस्तै राजधानिकै रत्नराज्य लक्ष्मी क्याम्पसमा यस अघिकै उम्मेद्वार सुरेन्द्र बस्नेतलाई नै दोहोर्या्उने निर्णय क्रान्तिकारीले गरेको छ । क्रान्तिकारीले अमृत साइन्स क्याम्पसमा दिपेश पुनलाई उठाउने भएको छ । पुन माओवादी नेता नन्दकिसोर पुनका छोरो हुन् । स्तै त्रिचन्द्र क्याम्पसमा टेकेन्द्र जोशी, महेन्द्ररत्न क्याम्पस ताहाचलमा ध्रुवविक्रम वली, पब्लिक युथ क्याम्पसमा गोविन्द कँडेल, पशुपति बहुमुखि क्याम्पसमा इन्द्र भुसाललाई सभापतिमा उठाउने अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले जानकारी दिनुभयो ।
21 hours ago
Like

प्रमुख विद्यार्थी संगठनका नेताहरुले स्ववियु निर्वाचनलाई प्रभावित पार्नेगरी अवैध रुपमा गरिएका एकमुष्ठ विद्यार्थी भर्ना खारेज गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । आज राजधानीमा रिपोटर्स क्लबले गरेको कार्यक्रममा नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिकारीका अध्यक्षहरुले केही दिनयता विभिन्न क्याम्पसमा गरिएको अवैध भर्ना खारेज गर्ने बताएका हुन् । तर उनीहरुले मनपरी भर्नाका लागि एकअर्कालाई दोषारोपण गर्न भने पछि परेनन् । यही जेठ २३ गतेका लागि तय गरिएको स्ववियु निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले विद्यार्थी संगठनहरुले केही दिनदेखि रातारात मनपरी ढंगबाट भर्ना गराईरहेका छन् । क्याम्पस प्रशासनलाई धाकधम्की गरेकै भरमा विद्यार्थी संगठनहरुले गैरविद्यार्थीहरुलाई भर्ना गराउँदा पनि त्रिवि प्रशासन भने मुकदर्शक बनेको छ ।
21 hours ago
Like

एकीकृत माओवादी नेतृत्व संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठकमा मधेसवादी दलका नेता उपस्थित नभएपछि वैठक नै औपचारिक हुन सकेन्।मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबाहेक अन्य मधेसवादी दलका नेता सो वैठकमा उपस्थित नभई दिए पछि वैठक हुन नसकेको हो। गठबन्धनमा रहेका सबै दललाई बैठकमा सहभागी हुन खबर गरिएको जानकारी दिँदै कोरम नपुगेपछि बैठकले कुनै पनि निर्णय गर्न नसकेको प्रवक्ता सिंहको भनाइ छ। राजेन्द्र महत्तो नेतृत्व सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्व तमलोपा, राजकिशोर यादव नेतृत्व फोरम गणतान्त्रिक, महेन्द्र यादव नेतृत्व तमलोपा, दलित जनजाति पार्टी अध्यक्ष विश्वेन्द्र पासवान, संघीय लोकतान्त्रिक मञ्च (थरुहट)की अध्यक्ष रुम्मणी चौधरी पनि बैठकमा उपस्थित थिइन्। प्राय बैठकमा सहभागी हुँदै आएका मधेसवादी दलका नेता आजको बैठकमा भने उपस्थित नभइ दिएपछि साझा घोषणा पत्र बनाउने गठबन्धनको योजना अन्यौलमा परेको छ। ठाकुर नेतृत्व तमलोपा र महत्तो नेतृत्व सदभावना माओवादीसँग साझेदारी गरेर निर्वाचनमा नजाने बताउँदै आएका छन्। तर, माओवादीले देशैभर कार्यगत एकता गरेर जाने प्रस्ताव राख्दै आएको छ। यद्यपी, बैठकमा गठबन्धन सचिवालयले तयार पारेको कार्ययोजना पेश गरिएको प्रवक्ता सिंहले जानकारी दिए।
21 hours ago
Like

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले एकिकृत माओवादीले बाहिरबाट चुनाव भनेपनि भित्रि रुपमा चुनाव हुन नदिन लागि परेको आरोप लगाउनु भएको छ । माओवादीले भित्री रुपमा चुनाव हुन नदिने षड्यन्त्र गरेको र बाहिरबाट जनता झुक्याउन 'पोलिटिकल मार्केटिङ' गरिरहेको पोख्रेलले दावी गनुर्भयो । एमाले सुनसरीको छैटौं जिल्ला अधिवेशनको वन्द शत्रलाई सम्वोधन गर्दै पोखरेलले माओवादीले देखावटी रुपमा मात्रै चुनाव भनेर मरिहत्ते गरेको बताउनुभयो । उहाँले एमाले संघियता विरोधी पार्टी नभएको भन्दै एमालेले नै सबैभन्दा पहिला संघीयतामा जानुपर्छ भनेर निर्णय गरेको दावी गर्नुभयो । पार्टीमा बढ्दो गुठबन्दीतर्फ संकेत गर्दै पोखरेलले कार्यकर्ताहरुलाई थाङ्ग्रे र लहरे प्रवृत्ति रोक्न निर्देशन दिनुभयो ।
21 hours ago
Like

कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादी र मधेसी मोर्चाले संघीयताका नाममा जनता ठगेको आरोप लगाएका छन् । प्रेस युनियनले आइतबार सर्लाहीको कर्मैयामा आयोजना गरेको पत्रकार भेटघाटमा संघीयताको एकमात्र नारा लगाउने मधेसी मोर्चा माओवादीको प्रपन्चमा फसेर जनता झुक्याउने काममा लागेको पौडेलले बताए । एमाओवादी र मधेसी दलले विगत संविधान सभामा कांग्रेस विरुद्ध फैलाएको भ्रम हटिसकेको उल्लेख गर्दै पौडेलले अबको निर्वाचनमा जनताले कांग्रेसलाई सबै भन्दा बढी सिटमा जिताउने दावी गरे । उनले एमाले भरपपर्दो पार्टी नभएकाले निर्वाचनमा गठबन्धन नहुने स्पष्ट पारे । कतिपय मुद्दामा समान धारणाका कारण सहकार्य भएपनि निर्वाचनमा मिलेर जान नसकिने उनले बताए । निर्वाचनमा प्रभाव पार्ने गरी माओवादी नेतृत्वको सरकारले गरेका नियुक्ति वदर नगरी निर्वाचन घोषणा नहुने उनले उनले स्पष्ट पारे । माओवादी र मधेसी मोर्चा आफ्ना पालामा गरेको नियुक्ति कायम रहोस भनेर निर्वाचन मिति घोषणा गराउन हतारिएको पौडेलले आरोप लगाए ।
21 hours ago
Like

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको आकार ठूलो बनाएर मात्रै संविधान नबन्ने भन्दै अब बन्ने संविधानसभालाई सानो बनाउनुपर्ने बताएका छन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा प्रजातन्त्रवादी प्रध्यापक संघको कार्यक्रममा बोल्दै कोइरालाले अब पनि ६ सय १ कै संविधानसभा बनाउनु आवश्यक नभएको बताए । सभासद्हरु धेरै बनाउँदैमा समावेशी हुने धारणा पनि गलत भएको उनको भनाई थियो ।
21 hours ago
Like

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार बिहान अध्यक्ष निवास बालुवाटारमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र त्यसको निकासका बारेमा छलफल भएको छ । संविधानसभाको सिट सङ्ख्या, दलको मान्यताको लागि ल्याउनुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड), फौजदारी कसुरका व्यक्तिहरुले चुनावमा उठन पाउने नपाउनेलगायतका विषयमा निर्वाचन अध्यादेशमा दलहरुबीच देखिएका विवाद समाधानका लागि हालसम्म भइरहेको प्रयास र निकासका बारेमा उनीहरुबीच छलफल भएको हो । विवादका विषयहरु सुल्झाएर छिटो निर्वाचन मिति घोषणा गर्ने र आन्दोलनरत दलहरुसँग समेत छलफल गरी छिटो राजनीतिक निकास निकालेर निर्वाचनमा जानेलगायत समसामयिक राजनीतिक विषयहरुमा करिब आधा घण्टा छलफल भएको छ । मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले निर्वाचन अध्यादेशमा उठेका विवादहरुका बारेमा सहमति जुटाउन सर्वदलीय बैठक डाकेपनि त्यसमा सहमति जुट्न नसकेपछि केही समययता राजनीतिक दलका नेताहरुसँग बेग्लाबेग्लै राजनीतिक परामर्श गर्ने क्रमलाई तीव्रता दिएका छन् ।
21 hours ago
Like

सम्पत्ति शुद्धिकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार वर्षदेखि अनुसन्धान अगाडि बढाएको थियो। मुद्दा अदालतमा लैजान परिपक्व बनिसकेको धेरै भइसके पनि डनहरुलाई राजनीतिक संरक्षण भएकोले मुद्दा दर्ता हुन सकिरहेको थिएन। गणेश लामा गृहमन्त्री विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन्। दिपक मनाङे राष्ट्रिय राजनीतिमा त्यत्ति परिचित नभएको दल संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हुन्। उनीमाथि राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको दलका नेताको राम्रो भरथेग छ। पर्शुराम बस्नेत एमालेका कट्टर कार्यकर्ता हुन्। उनी एमाले मोरङको जिल्ला सदस्य अनि युवा संघ नेपालको केन्द्रीय सदस्यको हैसियतमा छन्। अवैध हतियार बोकेको अभियोगमा केन्द्रीय कारागारमा रहे पनि चक्रे मिलन राजनीतिक संरक्षकहीन भइसकेका छैनन्। प्रहरीले अन्य ८ जना गुण्डाविरुद्ध पनि यस्तै किसिमको मुद्दामा अनुसन्धान जारी राखेको छ।
21 hours ago
Like

सम्पत्ति शुद्धिकरण विभागले स्रोत नखुलेको करोडौँ सम्पत्ति थुपारेको अभियोगमा गणेश लामासहित पाँच जना 'डन' विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। चक्रे मिलन, दिपक मनाङ्गे, अभिषेक गिरी र पर्शुराम बस्नेत विरुद्ध मुद्दा दायर भएको हो। गणेश लामाविरुद्धको उजुरी सबैभन्दा पछि दर्ता गरिएको थियो। उनीसँग २७ करोड एक लाख अवैध सम्पति रहेको उजुरीमा दावी गरिएको छ। यो दायर गरिएका मुद्दाहरुमध्ये सबैभन्दा बढी रकम हो। लामापछि दोस्रो नम्बरमा राजीव गुरुङ (दीपक मनाङे) छन्। विभागले उनीसँग १४ करोड ७३ लाख रुपियाँ बराबरको स्रोत नखुलेको अवैध सम्पत्ति रहेको दावी गरेको छ। तेस्रोमा पर्शुराम बस्नेत छन्, जोसित ११ करोड ४१ लाख अवैध सम्पति रहेको दावी गरिएको छ। त्यस्तै मिलन गुरुङ (चक्रे मिलन)सँग ७ करोड ८ लाख र अभिषेक गिरीसँग २ करोड ९४ लाख अवैध रकम रहेको उजुरीमा उल्लेख छ। विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दले पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए। मुद्दा दायर गरिएकामध्ये चक्रे मिलन केन्द्रीय कारागारमा रहेका छन् भने बाँकी चारै जनालाई अदालतमा उपस्थित गराइएको थिएन। खुल्लमखुल्ला हिँडिरहेका भए पनि उनीहरुलाई आज प्रहरीले पक्रेर अदालतमा उपस्थित गराएको थिएन।
21 hours ago
Like

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्यालय डडेलधुरामा अज्ञात व्यक्तिहरुले आगजनी र तोडफोड गरेका छन् । उद्योग बाणिज्य संघको कार्यालय नजिकै रहेको भवनको कार्यालय कोठाभित्र आगजनी गरिएको छ । महासंघका पदाधिकारीका अनुसार कागज पत्र चोरी समेत भएका छन् । प्रहरीले अहिले मात्र जानकारी पाएकाले अनुसन्धान चलिरहेको पनि डीएसपी कृष्ण प्रसाईले जानकारी दिए ।
21 hours ago
Like

स्ववियु निर्वाचनलाई लक्षित गरी अनियमित तरिकाले विद्यार्थी भर्ना गरिएको भन्दै विद्यार्थी संगठनहरुले सल्यानका सवै क्याम्पस अनिश्चितकालका लागि बन्द गरेका छन् । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले सल्यानमा रहेका सवै क्याम्पस बन्दको घोषणा गरेका हुन । प्रमाण पत्रविनै आचारसंहिता विपरित हुनेगरी क्याम्पस प्रशासनले विद्र्याी भर्ना गरेको भन्दै विद्यार्थी संगठनहरुले क्याम्पसहरु वन्द गरेको नेविसंघ सल्यानका अध्यक्ष लोकराज आचार्यले बताउनुभयो । विद्यार्थी संगठनहरुले जेठ ३ गते गरिएको भर्नाको छानविन नहुँदा सम्म क्याम्पस नखोलिने बताएका छन् । एकीकृत माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सल्यान क्याम्पस सल्यान, शिवजन क्याम्पस शितलपाटी र जनकल्याण क्याम्पस थारमारेमा फर्जी विद्यार्र्थी भर्ना गरेको अरु विद्यार्थी संगठनहरुको आरोप छ ।
21 hours ago
Like

बैतडीका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले आफ्नै श्रीमती सुनितालाई खरिदारमा नियुक्त गरी मासिक रुपमा साढे १३ हजार रुपैयाँ आफैंले खाने गरेको खुलासा भएको छ । प्रमुख जिल्ला अधिकारीले खरदार सरहका सहयोगी (पिए) राख्न पाउने व्यवस्था भएअनुसार रेग्मीले श्रीमतीलाई नियुक्त गरेको जिल्ला प्रशासन कार्यालय बैतडीको एक कर्मचारीले बताए । प्रमुख जिल्ला अधिकारी रेग्मीकी श्रीमती सुनिताले खरिदारको नियुक्ती पाएपनि उहाँले अहिलेसम्म बैतडी नटेकेको तर उहाँको मासिक तलब भने प्रमुख जिल्ला अधिकारी आफैंले बुझ्ने गर्नुभएको छ । इलामबाट सरुवा भएर ८ महिनाअघि बैतडी पुगेको रेग्मीले अहिलेसम्म सुनिताको तलब वापत १ लाख ८ हजार रुपैयाँ बुझिसक्नु भएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले कार्यालयमा पिएले गर्नुपर्ने सबै कामका लागि भने प्रहरी खटाउने गर्नुभएको छ । भ्रष्टाचारलगायतका अनियमित काममाथि निगरानी गर्ने र नियमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले नै श्रीमतीलाई नक्कली खरिदार नियुक्त गरेर तलब आफैंले बुझ्ने गरेपछि जिल्ला प्रशासन कार्यालय बैतडीका कर्मचारी चकित परेका छन् । तर प्रमुख जिल्ला अधिकारी रेग्मीले पिए राख्नु पाउनु आफ्नो अधिकार भएको र आफूले जो सुकैलाई पनि पीए राख्न पाउने दावी गर्नुभयो । पीएले घरमा पनि र कार्यालयमा पनि काम सघाउने भन्दै रेग्मीले पीए राख्ने र काम लगाउने आफ्नो स्वविवेकीय अधिकार भएको बताउनुभयो ।
21 hours ago
Like

दाङको उरहरी गाविसमा सञ्चानल गरिएको घुम्ती शिविरमा नेकपा–माओवादीका कार्यकर्ताले अवरोध पु-याएका छन् । घुम्ती शिविर सञ्चालन भइरहेको स्थानमा दुई सयको संख्यामा पुगेका –माओवादी कार्यकताले रजिस्टर च्यात्नुका साथै ल्यापटप पनि खोसेका थिए । प्रहरी र माओवादी कार्यकर्ताबीच केहीबेर झडप समेत भएको थियो । अवरोध पछि शिविरको काम स्थगित गरिएको छ ।
21 hours ago
Like

नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले संविधान सभाको निर्वाचन हुनेमा आफु विश्वस्त भएको बताएका छन् । आज नेपाल प्रेस यूनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनका बारे शंका उब्जीएका भएपनि आन्दोलनमा उत्रिएका ३३ दलहरुसंग बार्ता गरेर चुनाव गराएरै छाडिने बताए । उनले संविधान निर्माणका लागि जनताको मत लिनु आवश्यक भएकाले निर्वाचन जसरी पनि हुनु पर्ने बताए । देशमा नेपाली कांग्रेस प्रति जनताको उर्लिदो जनलहर देखिएकाले कांग्रेसको जीत सुनिश्चित रहेको उनको दाबी थियो । उनले नेपाली कांग्रेस संविधान निर्माण, लोकतन्त्रको संस्थागत विकास र विकासको मुद्दा लाई अगाडी सार्दै निर्वाचनमा जाने बताए ।
21 hours ago
Like

राप्रपा नेपालका अध्यक्ष कमल थापाले बैदेशिक हस्तक्षेपले मुलुकको सारभौम खतरामा परेको बताएका छन् । उनले बैदेशिक हस्तक्षेप ४ ठूला दलका नेताले निम्ताएको दावी गरे । 'विदेशी प्रभुको नजिक हुन प्रमुख दलका नेताबीच हनाथप भइरहेको छ,' आइतबार कोहलपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने,'बैदेशिक हस्ताक्षेपको प्रभाव राष्ट्रपतिसम्म पर्ने गरेको छ ।'
21 hours ago
Like

कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलामा बाबु छोरा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । लामो समयदेखि प्यारालाइसिसबाट पीडित बाबु छोराले गरिबीका कारण रोगको उपचार गर्न नसक्दा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । ४८ वर्षीय बाबु राजेश टमटा र १९ वर्षीय छोरा अजु टमाटाले घरभित्र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक विर्खबहादुर रावलले बताउनुभयो । प्रहरीका अनुसार बाबु छोरा एउटा घरमा बस्थे भने अर्को घरमा राजेशका जेठा छोरा र बुहारी बस्थे । मृतकका जेठा छोरा र बुहारीसँग सोधपुछ गरिरहेको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो । छोराको उपचारका लागि राजेशले आफन्त, छिमेकी र नातागोताबाट ऋण लिएका थिए । उनले बेलाबेलामा ऋणको चिन्ताले सताउने गरेको छिमेकीहरुसँग बताउने गर्थे ।
21 hours ago
Like

भारतीय मुलकी क्यानेडियन पोर्न स्टार सनी लियोनपछि अर्की एक पोर्न स्टारको प्रवेश हुने हल्लाले यतिबेला बलिउड तातेको छ । फिल्म ‘जिस्म–२’ बाट बलिउड प्रवेश गरेकी सनी यतिबेला बलिउडमा छाउँदै छिन् । यस्तैमा अहिले बलिउडमा प्रवेश गर्न लागेकी भनिएकी अर्की पोर्न स्टारको नाम हो, प्रिया अञ्जली राय । भारतीय मुलकी अमेरिकी पोर्न स्टार प्रियाले आफू चाँडै नै बलिउड फिल्म देखिन लागेको बताएकी छिन् । प्रियाले आफ्नो माइक्रो ब्लगिङ साईट ट्वीटरमा आफू भारत जाने कुराले रोमान्चित भएको भन्दै आफ्ना प्रशंसकहरुसँग भेट गर्न उत्सुक रहेको उल्लेख गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले आफूले भारतीय फिल्ममा अभिनय गर्न लागेको पनि उल्लेख गरेकी छिन् । प्रियाले अभिनय गर्न लागेको भनिएको फिल्म नारी प्रधान भएको जनाइएको छ । प्रियाले अभिनय गर्ने फिल्ममा बढी मात्रामा अन्तरंग दृष्य हुने अनुमान बलिउडमा गरिएको छ । तथापी प्रियाले भने आफ्नो फिल्ममा ‘न्यूड’ दृष्य नहुने बताएकी जनाइएको छ । मूल घर दिल्ली भएकी प्रिया २ वर्षकी हुँदा एक अमेरिकी दम्पतीको धर्मपुत्रीका रुपमा अमेरिका पुगेकी थिइन् । उनले अमेरिकाको एरिजोना स्टेट युनिर्भसिटीबाट मार्केटिङ विषयमा डिग्री हासिल गरेकी छिन् भने उनी अमेरिकाको चर्चित पोर्न स्टार भएकी समेत जनाइएको छ ।
2 days ago
Like

स्पेनिस घरेलु फुटबल प्रतियोगिता कोपा देल रे अर्थात किङ्गस कपको उपाधि एटलेटिको मड्रिडले जितेको छ । एटलेटिको मड्रिडले आफ्नै शहर मड्रिडको प्रतिद्धन्दी रियाल मड्रिडलाई २-१ ले हराएको हो । पछिल्लो १४ बर्षमा रियाल मड्रिडमाथि एटलेटिको मड्रिडको यो पहिलो जित हो । आफ्नै मैदान सेन्टियागो बर्नाबेउमा भएको खेलमा घरेलु टोली रियाल मड्रिडले क्रिश्टियानो रोनाल्डोको गोलमा अग्रता लियो भने एटलेटिको मड्रिडले डिएगो कोस्टाको गोलमा बराबरी ग¥यो । निर्धारित समयमा १÷१ गोलको बराबरी भएपछि खेलमा अतिरिक्त ३० मिनेट समय थपिएको थियो । ९८ औं मिनेटमा मिरान्डाले निर्णायक गोल गरेपछि एटलेटिको मड्रिड विजयी भएको हो । यसअघि रियाल मड्रिडले जारी सिजनको स्पेनिस फुटबल लिग ला लिगाको उपाधि कट्टर प्रतिद्धन्दी बार्सिलोनासँग गुमाएको थियो भने च्याम्पियन्स लिगमा उ सेमिफाइनलबाटै बाहिरिएको थियो ।
2 days ago
Like

सिरियामा दुई वर्षयताको सशस्त्र हिंसाका कारण १५ लाखभन्दा बढी सर्वसाधारण अरु मुलुकमा शरण लिन बाध्य भएका छन् । आफ्नो घरबार छाड्न बाध्य उनीहरु धेरैजसो छिमेकी मुलुक जोडर्न र लेबनान पुगेको राष्ट्रसंघले जनाएको छ । आधिकारिक तथ्यांक अझै नभएकाले यसको संख्यामा बढोत्तरी हुनसक्ने राष्ट्रसघीय शरणार्थी उच्चायोगले जनाएको छ । सिरियाका राष्ट्रपति बशार अल असादविरुद्ध गत दुई वर्षदेखि चर्केको आन्दोलनका क्रममा ८० हजारभन्दा बढी सर्वसाधारण मारिएको अनुमान राष्ट्रसंघको छ । ४२ लाखभन्दा बढी सर्वसाधारण देशभित्रै शरणार्थी बनेको अर्को तथ्यांक पनि आएको छ । ठूलो संख्यामा शरणार्थी आइरिएकाले तिनलाई खाने र बस्नेको व्यवस्था मिलाउन गाह्रो परेको पनि खबरमा उल्लेख छ । यसैबीच, चर्कँदो हिंसाले विश्व समुदायलाई चिन्तित बनाइरहेका बेला रुसले भने सिरिया सरकारलाई अत्याधुनिक हतियार पठाएको छ । असादको सत्ताले आफ्ना नागरिकविरुद्ध रासायनिक हतियारसमेत प्रयोग गरेको पश्चिमा देशले अरोप लगाइरहेका बेला रुसले भने आगोमा घ्यू थप्न असादको सत्तालाई हतियार सहयोग गरेको हो । रुसले अत्याधुनिक एन्टी शीप हतियार पठाएको हो ।
2 days ago
Like

पाकिस्तान प्रशासित कश्मिरमा चिनियाँ नागरिक ली लाई मुश्लिमको धार्मिक ग्रन्थ कुरानको अपमान गरेको आरोपमा पक्राउ गरिएको छ । ली कश्मिरमा चिनियाँ कम्पनीको बांध परियोजनामा कार्यरत थिए । ईश निन्दा गरेका ली पाकिस्तानी नागरिकको रिसको मारमा नपरुन् भनेर नियन्त्रणमा लिएको पाकिस्तान प्रहरी अधिकारीले बताएका छन् । मुजफ्फराबादमा ली र स्थानिय डाक्टर सज्जादबीच विवाद बढ्दै जांदा लीले डाक्टर सज्जादको कोठाबाट सामान फ्याक्दा कुरान र अरु धार्मिक पुस्तक पनि फ्यांकिएपछि घटना प्रकाशमा आएको थियो । घटना छानबीन गर्न समिति बनाइएको छ । मुश्लिम मुलक पाकिस्तानमा कुरानको अपमानलाई निकै संवेदनशील मानिन्छ ।
2 days ago
Like

अर्जेन्टिनामा मानवता विरोधी अपराध गरेको अभियोगमा सजाय काटिरहेका पूर्व सैन्यशासक जर्ज रफायल विडेलाको जेलमै निधन भएको छ । ८७ वर्षीय विडेलाको निधनलाई स्वाभाविक मृत्यु भनिएको बीबीसीले जनाएको छ । उनलाई सन् २०१० मा जेल चलान गरिएको थियो । अर्जेन्टिनामा सन् १९७६ देखि सन् १९८३ मा सैन्य शासनको बेलामा ३१ जनाको मृत्यु भएको घटनामा विडेलालाई जिम्मेवार ठहराइएको थियो । उक्त समयमा ‘डर्टी वार’ नामबाट सुरु भएको अभियानका कारण ३० हजार मानिसलाई प्रताडित गरिनुका साथै धेरै मानिसको विभत्स ढंगले हत्या गरिएको थियो ।
2 days ago
Like

चीनको दक्षिण क्षेत्रका ९ वटा प्रान्तमा लगातारको भारी वर्षा पछि आएको बाढी र पहिरोमा परि कम्तिमा ५० जनाको मृत्यु भएको छ भने १४ जना हराइरहेका छन् । बाढी पहिरोबाट बढी प्रभावित ग्वाङडोङ प्रान्तमा मात्रै ३६ जनाको मृत्यु भएको छ । बाढीबाट करिब ९ लाख मानिस प्रभावित हुनुका साथै हजारौं घर ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा अझै वर्षा हुने अनुमान गरिएको छ । बाढी प्रभावित क्षेत्रहरुमा उद्धार टोली खटाइएको बताइएको छ ।
2 days ago
Like

उत्तर कोरियाले छोटो दूरीका तीन वटा मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार मिसायलहरु देशको पूर्वी तटीय क्षेत्रमा परीक्षण गरिएका हुन् । उत्तर कोरियाको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्तरले आज विहान दुई वटा र दिउँसो एक वटा मिसाइल परीक्षण गरिएको उल्लेख छ । मन्त्रालयका अधिकारीहरुले मिसाइल परीक्षणपछिको अवस्थालाई सतर्कताका साथ अनुगमन गरिरहेको जनाएका बीबी���ीले उल्लेख गरेको छ । गत वर्षको फेब्रुवरीमा उत्तर कोरियाले तेस्रो आणविक परीक्षण गरेपछि कोरियाली प्रायद्धीपमा बढेको तनाब केही मत्थर भैरहेका बेला उत्तरले आज मिसाइल परीक्षण गरेको हो । गत महिना अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास पछि उत्तर कोरियाले अमेरिकी सैन्य वेश, दक्षिण कोरिया र जापानमा आक्रमणको धम्की दिएको थियो । त्यस्तै दक्षिण कोरियासँगको आपतकालीन सैन्य हटलाइन बन्द गर्नुका साथै केइसङमा रहेको संयुक्त औद्योगिक क्षेत्रबाट आफ्ना ५३ हजार कामदार पनि उत्तर कोरियाले फिर्ता लगेको थियो ।
2 days ago
Like

सरकारले ग्यास बिक्रेताले ग्यास बाहेकका अन्य दैनिक उपभोग्य सामाग्री बेच्न नपाउने नयाँ व्यवस्था गरेको छ । आगामी असार १ गतेदेखि लागू हुने गरी सरकारले चामल, दालजस्ता सामाग्री बेच्ने पसललाई ग्यास बिक्रीको अनुमति नदिने भएको छ । ग्यास, रेगुलेटर, चुल्हो, रेगुलेटर पाइप, तिनको मर्मतसम्भारलगायत कार्य गर्न ग्यास बिक्रेतालाई सुविधा दिइएको तर अन्य वस्तुको कारोबारमा रोक लगाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले बताए । “असार १ गतेदेखि दुई रङका सिलिन्डरको प्रयोगसँगै ग्यास र त्यससम्बन्धी वस्तुको कारोबार एउटै पसलबाट मात्र हुनेछ” – पानदेखि पानी पसलेले समेतले ग्यासको कारोबार गर्दै आएकाले एकै स्थानबाट मात्र बेचविखन गर्न तथा ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न त्यस्तो निर्णय गरिएको जानकारी दिँदै सचिव जोशीले भने । हाल नेपालभर १३ लाख ग्यास सिलिन्डर प्रयोगमा रहेका बताइएको छ ।
2 days ago
Like

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गर्ने काठमाडौँ महानगरपालिका–२५ मखनटोल बस्ने ३६ बर्षीया सम्झना बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान सवा ८ बजे बा.३४ प ३५५४ नम्वरको स्कुटीमा ३ जना बसी आएपछि पुतलीसडक चोकमा खटिएका ट्राफिक प्रहरीले स्कुटी रोकी कागजपत्र माग्दा उनले ट्राफिक प्रहरी जवान गोविन्द राना र विकास गिरीलाई गाली गलौज गर्नुको साथै युनिफर्म समेत च्याती दिएको प्रहरीले बताएको छ। ट्राफिक प्रहरीले निजको स्कुटी नियन्त्रणमा लिने क्रममा ट्राफिक प्रहरी जवान विकासगिरीलाई निजले हेल्मेटले टाउकोमा प्रहार गर्दा हेल्मेट छेक्ने क्रममा निज बस्नेतको मुखमा सामान्य चोट लागेको थियो। उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सिहदरबारको बा.१ झ ५७५ नम्वरको मोवाइल भेन उक्त स्थानमा पुग्दा निजका श्रीमान ६० बर्षीय बिष्णुमान श्रेष्ठ समेतका ४/५ जनाको समुहले सवारी आगमनमा अवरोध पुर्या्ई प्रहरी भेनको साँचो खोसेकोले बिष्णुमान श्रेष्ठ सहित ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिए सम्झाई बुझाई गरी छाडेको थियो। प्रहरी थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
2 days ago
Like

ब्राह्मण समाजले ब्राह्मण समुदायलाई अन्य जातिको सूचीबाट हटाएर आदिवासीमा सुचिकृत नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । ब्राह्मण समाजको काठमाडौं जिल्ला अधिवेशनका सहभागीहरुले पुर्खौदेखि बस्दै आएका ब्राह्मणलाई अन्यमा नामाकरण गरिएको भन्दै आक्रोश ब्यक्त गरे । अन्य बर्गबाट आदिवासीमा सुचिकृत गर्न सरकारसँग दुई पटक वार्ता भएपनि सरकारले गम्भीरता नदेखाएको समाजका सदस्यहरुको आरोप छ ।
2 days ago
Like

नेकपा-माओवादी नेतृत्वको ३३ दलले सरकार र उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता नगर्ने अडान दोहोर्याएको छ । शनिबारबाट सुरु भएको बैठकले वार्ताका लागि अघि सारेको ३ बुँदे शर्त पूरा नभएसम्म वार्तामा नबस्ने निर्णय गरेको हो । बैठकमा मेची महाकाली राष्ट्रिय जागरण अभियानको समापनको दिन १४ गते खुलामञ्चमा हुने आमसभाको तयारीबारे पनि छलफल हुनेछ ।
2 days ago
Like

एकीकृत नेकपा माओवादीका नेता बर्षमान पुनले आगामी निर्वाचनमा संघीयता र पहिचान चाहने शक्तिहरुको गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । वाइसीएलको नेवा राज्यस्तरीय सम्मेलन राजधानीको वसन्तपुरमा उद्घाटन गर्दै नेता पुनले विगतमा परिवर्तन पक्षधरहरुको स्पष्ट बहुमत नभएकै कारण संविधानसभाबाट संविधान बन्न नसकेको तर्क गरे । आगामी निर्वाचनमा समानुपातिक निर्वाचनको कोटा घटाउन नहुनेमा उनको जोड थियो ।
2 days ago
Like

नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचन अब कसैको अवरोधबाट नरोकिने बताएका छन् । अध्यक्ष खनालले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकको अहिलेको समस्याको एक मात्र समाधान निर्वाचन हो भने । उनले आगामी मङ्सिर महिनाभित्र निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्दै चुनावका लागि निर्वाचन ऐन ल्याएर चाँडै निर्वाचनको मिति घोषणा गर्ने बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष खनालले चुनाव लोकतन्त्रको मेरुदण्ड भएकाले कसैले पनि निर्वाचनको विरोध नगरी सबैले यसको उपयोग गर्नुपर्ने बताए । असन्तुष्ट ३३ राजनीतिक दलले चुनावको विरोध गरिरहेको विषयमा राखिएको जिज्ञासामा उनले विरोध गर्नेहरुसँग पनि चार राजनीतिक दलले वार्ता र छलफल गरेर चुनावमा सहभागी हुने वातावरण बनाउने बताए । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनुभएका अध्यक्ष खनालले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न विगतको सरकारले गरेको नियुक्तिहरु बदर गरी साझा सहमतिबाट नयाँ नियुक्तिको प्रक्रिया थालिने बताए।
2 days ago
Like

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउनु ग्रयाण्ड डिजाइन भएको बताएका छन् । पोखरामा स्वर्गीय दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै सभापति कोइरालले विभिन्न पक्षबाट सर्वत्र विरोधका बाबजुत पनि अख्तियारमा लोकमानको नियुक्ति हुनु ग्रयाण्ड डिजन नै भएको दाबी गरे । उनले चार दलीय सिन्डिकेट तोडेर मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादी र उपेन्द्र यादव लगायतका दलहरुलाई पनि सहमतिमा ल्याउनुपर्ने बताए । वार्ता र सहमतिबाट चार दलीय सिन्डिकेट तोडेर दलहरु चुनावी वातावरणमा आउनुपर्ने सभापति कोइरालाको भनाई थियो । कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो सातामा संविधानसभाको चुनाव हुनुपर्नेमा सभापति कोइरालाको जोड थियो ।
2 days ago
Like

नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा आजबाट एकीकृत नेकपा माओवादीमा प्रवेश गरेकी छिन् । माधव नेपाल नेतृत्वको तत्कालीन सरकारविरुद्ध आन्दोलनमा उत्रिएको माओवादीको आमसभामा अध्यक्ष पुष्पकमल दाहालसँग नाचेदेखिनै रेखालाई माओवादीनिकट मानिदैं आएकोमा आजबाट उनी औपचारिक रुपमै कार्यकर्ता बनेर पार्टीमा प्रवेश गरेकी छिन् । माओवादी कार्यकर्ता बनेपछि नायिका रेखाले एमाओवादीको नीति र सिद्धान्त मन परेर आफू यो पार्टीमा आएको भन्दै आउँदा दिनमा पार्टी काममा सक्रिय भएर लाग्ने बताइन् । त्यस्तै आजै नेकपा एमालेकी नेतृ उर्मिला अर्याल पनि एमाओवादीमा प्रवेश गरेकी छिन् । दुबै जनालाई माओवादी अध्यक्ष दाहालले पार्टीमा भित्राएका हुन् । एमालेमा पोलिटब्युरो सदस्य रहेकी अर्याल पार्टी परित्याग गरी एमाओवादीमा प्रवेश गरेकी हुन् । आज विहान पार्टी कार्यालय कोटेश्वरमा कार्यक्रम गरी दाहालले रेखा र अर्याललाई पार्टी प्रवेश गराए । पार्टी प्रवेश गर्दै अर्यालले एमाले कम्युनिष्ट सिद्���ान्त छाडेर पतन भएकाले असली कम्युनिष्ट माओवादीमा प्रवेश गर्नुपरेको जिकिर गरिन् । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले कम्यूनिष्ट आचरणवाट धेरै पर पुगेकाले उनीहरुसँग कहिल्यै एकता नहुने बताए । उनले जनताको विश्वास र वलवाट नै संविधानसभाको निर्वाचन गर्ने प्रमुख दायित्वलाई पूरा गर्न आफूहरु कटिवद्ध भएर लागेको बताए ।
2 days ago
Like

नेकपा मालेको महासचिवमा पुन: सिपी मैनाली चयन हुनुभएको छ । ललितपुरमा भएको मालेको छैटौं राष्ट्रिय सम्मेलनले चयन गरेको केन्द्रिय कमिटिको पहिलो बैठकले मैनालीलाई पुनः महासचिवमा चयन गरेको मालेले जनाएको छ । बैठकले ९ सदस्यीय पोलिटब्युरो पनि चयन गरेको छ । पोलिटब्युरोमा एन्पी आचार्य, डम्वर श्रेष्ठ, कुमार बेल्बासे, गोपालमणि गौतम, खगेन्द्र प्रसाईं, सीता खड्का, दीननाथ घिमिरे र गोविन्द केके हुनुहुन्छ । मालेले थ्रेसहोल्ड शुन्य दशमलव ५ प्रतिशत राख्न माग गरेको छ । त्यस्तै, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिनुपर्ने र चार दलीय संयन्त्र विघटन गर्नुपर्ने माग मालेले गरेको छ ।
2 days ago
Like

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भर्न छुटेको भए छिटो दर्ता गर्न आग्रह गरेको छ । अहिले दर्ता भएको मतदाता नामावलीको आधारमा मात्र संविधानसभा चुनावमा उम्मेद्वार हुन र भोट हाल्न पाइने भएकाले छुटेकालाई नाम दर्ता गराउन आयोगले ध्यानाकर्षण गराएको हो । सबै जिल्लाका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र एकीकृत घुम्ती शिविर सेवा कार्यक्रम सञ्चालन भएका ठाउँमा नामावली दर्ता गर्ने काम भैरहेको छ । आफूलाई पायक पर्ने ठाउँमा आफैं उपस्थित भई नाम दर्ता गराउन, दर्ता गरिएको विवरणमा त्रुटि भएमा सच्याउन र पहिले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताले फेरि दर्ता नगर्न समेत आयोगले अनुरोध गरेको छ । अहिलेसम्म झण्डै एक करोड १५ लाख जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेको आयोगले जनाएको छ । नागरिकता वितरण र नामावली संकलनको काम सँगै भएकाले मतदातामा उत्साह देखिएको आयुक्त दोलखबहादुर गुरुङले बताउनुभयो ।
2 days ago
Like

एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले थ्रेसहोल्डको व्यवस्थासहितको अध्यादेश जारी हुनुपर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै रायमाझीले थ्रेसहोल्डको व्यवस्था नभए दलीय राजनीतिमा दुरगामी नकारात्मक असर पर्ने तर्क गर्नुभयो । उहाँले थ्रेसहोल्डको व्यवस्था नभए समस्या आउने दावी गर्नुभयो । तर उहाँकै पार्टी एकीकृत नेकपा माओवादीले भने थ्रेसहोल्डको व्यवस्था हुनु नहुनेमा जोड दिँदै आएको छ । रायमाझीले संविधानसभा सदस्य संख्या ४ सय ९१ भन्दा बढी हुन नहुने बताउनुभयो । देशले धान्न नसक्ने गरी सदस्य संख्या बढाउन नहुने उहाँको भनाइ थियो । उहाँले कुनै राजनीतिक दल वा समूहले चुनाव रोक्न नसक्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एनेकपा माओवादी चुनाव हुन नदिन लागिपरेको आरोप लगाउनु भयो । माओवादी चुनावको पक्षमा नरहेको र उसका क्रियाकलाप चुनाव हुन नदिनेतर्फ लक्षित रहेको केसीको दावी थियो । वर्तमान सरकारलाई असफल बनाएर माओवादी सत्ता कब्जा गर्ने रणनीतिमा लागेको केसीले आरोप लगाउनुभयो । यस्तै नेकपा एमाले नेता भीम रावलले थ्रेसहोल्डको व्यवस्थामा एमाले अडिग रहेको बताउनु भयो । उहाँले समावेशीको ठूला कुरा गर्नेहरु ३० प्रतिशत भन्दा कम उम्मेदवार दिनेलाई समावेशीको सिद्धान्त पालना गर्न नपर्ने पक्षमा उभिनु हाँस्यास्पद भएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले सार्थक चुनावकालागि थ्रेसहोल्ड हटाउनुपर्ने बताउनुभयो । उहाँले आफूहरुले राखेको १३ बुँदे माग सम्बोधन नभएसम्म चुनाव हुनैनसक्ने ठोकुवा गर्नुभयो । चार दलिय सिण्डिकेटको औचित्य र तुक नभएको उहाँको तर्क थियो ।
2 days ago
Like

चुनाबी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकारले पूर्णरुपमा स्वतन्त्र र निष्पक्षताकायम गर्दै यथासम्भव सबै दलको सहभागिताको सुनिश्चिततासहित भयरहित वातावरणमा समावेशी चरित्रको निर्वाचन सम्पन्न गराउने लक्ष्य राखेको बताएका छन्। कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजद्वारा निर्मित पितृमुक्ति सदन (किरियापुत्री भवन) सञ्चालन प्रारम्भ तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले त्यसका लागि संविधान सभा सदस्य निर्वाचन अध्यादेशलाई अन्तिमरुप दिनका लागि सरकारले विगत केही दिनदेखि राजनीतिक दलहरुसँग विस्तृत छलफल जारी राखेको उल्लेख गरे। निर्वाचन कानुनको पूर्णतासँगै निर्वाचनमैत्री वातावरणका लागि आवश्यक पूर्वाधारको व्यवस्था गरी निर्वाचन मिति घोषणा गर्न सरकार आतुर रहेको बताउँदै अध्यक्ष रेग्मीले निर्वाचनप्रति सकारात्मक हुँदै रचनात्मक सहभागिताका लागि सबैसँग आग्रह गरे।
2 days ago
Like

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलीय सिन्डीकेटले मूलुक गम्भीर अबस्थामा पुगेको बताउनुभएको छ । शनिवार बैतडीको पाटनमा सेतीमहाकाली राज्य समितिको बैठकमा प्रशिक्षण दिदै वैद्यले मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलन थाल्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले आफ्नो गठवन्धनलाई वलियो बनाउदै विस्तार गर्ने र ४ दललाई घुँडा टेक्न बाध्य पार्ने दावी गर्नुभयो । अहिलेको सरकार रिमोट कन्ट्रोलबाट चलिरहेको आरोप लगाउदै वैद्यले निर्दलीय सरकारले गरेका हरेक गतिविधिमा वाह्य शक्ति हावी हुदै गएको दाबी पनि गर्नुभयो । २ दिने प्रशिक्षणपछि अध्यक्ष बैद्य चमेलिया जलविद्युत आयोजनाबारे वुझ्न दार्चुला जानुभएको छ ।
2 days ago
Like

बझाङको काँढा गाविसको राईढुंगी लेकमा आएको हिउँ पहिरोमा परि ७ जना वेपत्ता भएका छन् । वेपत्ता हुने सवै यार्सागुम्बा संकलनका लागि यो लेकमा पुगेका थिए । यार्सागुम्बा संकलन गर्नेहरुले ७ जना वेपत्ता भएको जानकारी दिएपछि प्रहरीको टोली घटनास्थलतिर गएको तर घटना पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
2 days ago
Like

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टीले उठाएका १० सुत्रिय मागप्रति सरकार गम्भीर नभएको भन्दै भोलीदेखि आफैं आमरण अनशनमा बस्ने घोषणा गर्नु भएको छ । सरकार गैर जिम्मेवार ढङ्गले प्रस्तुत भएको भन्दै उहाँले आमरण अनशनमा बस्ने घोषणा गर्नु भएको हो । नेपालगञ्जमा बाँके जिल्लामा आमरण अनशनमा रहेको नेताहरुको अवस्था बुझदै अध्यक्ष महतोले पार्टीले उठाइएका माग प्रति सरकार गैर जिम्मेवार ढगले प्रस्तुत भएको आरोप लगाउनु भयो । संविधानसभाको निर्वाचन मिति घोषणा, निर्वाचन क्षेत्र पुनः निर्धारण आयोग गठन, नागरिकता वितरण निर्देशिका-२०७० संशोधन गरी आमाका नामबाट पनि नागरिकता प्रदान गर्नुपर्ने लगायतका माग राख्दै सद्भावनाका नेता कार्यकर्ता ६ दिनदेखि आमरण अनशनमा छन् ।
2 days ago
Like

स्पेनिस घरेलु फुटबल प्रतियोगिता कोपा देल रेको फाईनलमा आज राति एकै शहरका प्रतिद्धन्द्धी रियाल मड्रिड र एथ्लेटिको मड्रिड आमुने–सामुने हुँदैछन् । नेपाली समय अनुसार राति साव एक बजे सुरु हुने खेल रियाल मड्रिडको मैदान सेन्टियागो बर्नाबेउमा खेलिनेछ । हालसम्म रियाल मड्रिडले कोपा देल रे अर्थात किंग्स कपको उपाधि १८ पटक जितेको छ भने एथ्लेटिको मड्रिडले यो उपाधि ९ पटक चुमेको छ । जारी सिजनको सुरुवातमा स्पेनिस सुपर कपको उपाधि जितेको रियाल मड्रिडले स्पेनिस फुटबल लिग ला लिगा बार्सिलोनासँग गुमाईसकेको छ भने च्याम्पियन्स लिगमा उ सेमिफाइनलबाटै बाहिरिएको छ । तसर्थ कोपा देल रे उपाधि रियाल मड्रिडका लागि सान्त्वना जित हुनेछ । अर्कातर्पm पछिल्लो १४ वर्षमा रियाल मड्रिडलाई कुनै खेलमा हराउन नसकेको एथ्लेटिको मड्रिडका लागि यो खेल निकै चुनौतिपूर्ण रहनेछ । एकै शहर मड्रिडका प्रतिद्धन्द्धी रियाल मड्रिड र एथ्लेटिको मड्रिडबीचको खेललाई ‘मड्रिड डर्बी’ पनि भनिन्छ ।
3 days ago
Like

इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत गएरातिको खेलमा जीत हात पारेको किंग्स इलेभेन पञ्जावले चौंथो स्थानमा उक्लिने सम्भावना जोगाउनुका साथै प्ले–अफ खेल्ने झिनो सम्भावनालाई पनि जीवितै राखेको छ । पञ्वाले दिल्ली डेयरडेभिल्सलाई ७ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको पञ्जावले ४ विकेटको नोक्सानीमा १ सय ७१ रन जोड्यो । पञ्जावका सन मार्सले सर्वाधिक ४५ रन बनाए भने दिल्लीका आशिष नेहेराले २ विकेट लिए । जवाफमा १ सय ७२ रनको लक्ष्य पछ्याउको दिल्लीले ७ विकेटको नोक्सानीमा मात्र १ सय ६४ रन जोड्यो । दिल्लीका बेन रोहर्रले सर्वाधिक ४९ रन बनाए भने पञ्जावका सन्दिप शर्माले ३ विकेट हात पारे । जारी प्रतियोगितामा १२ औं हार बेहोरेको दिल्ली यसअघि नै प्रतियोगितामा प्ले–अफ खेल्नबाट बन्चित भईसकेको थियो । १५ खेलबाट १४ अंक जोडेको पञ्जाव अंक ताकिलाको छैठौं स्थानमा छ भने समान खेलबाट ६ अंक जोडेको दिल्ली आठौं स्थानमा छ । आईपीएलमा आज सनराईजर्स हैदरावादले राजस्थान रोयल्सको सामना गर्ने । खेल नेपाली समय अनुसार साँझ साव आठ बजे सुरु हुनेछ ।
3 days ago
Like